आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ

ठमेलबाट ३ किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिक पक्राउ

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

काठमाडौं। काठमाडौंको ठमेलबाट तीन किलो कोकेनसहित ८७ वर्षीय दक्षिण कोरियाली नागरिक र २८ वर्षीय भारतीय नागरिक पक्राउ परेका छन्।

Machhapuchchhre

लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक सुक चोन लीलाई पक्राउ गरेको हो।

उनले साथमा ल्याएको ह्यान्ड ब्यागेजको फल्स बटम बनाएर लुकाइएको अवस्थामा तीन किलो कोकेन बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त कोकेन लिन काठमाडौं आएका भारतीय नागरिक दीपक उत्तम वाघमारे पनि कोकेन बुझेर लैजाने क्रममा पक्राउ परेका छन्।

लागूऔषध नियन्त्रण ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा दक्षिण कोरियाली नागरिक लीले पेरुबाट कोकेन काठमाडौं ल्याउने र भारतीय नागरिक वाघमारेले काठमाडौं हुँदै भारतको मुम्बई पु¥याउने योजना बनाएको खुलेको छ। 

प्रहरीका अनुसार ली सन् २०२६ नोभेम्बर २६ मा पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आएका थिए। यसअघि पनि उनी सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलस्थित एक होटलमा तीन दिन बसेपछि दक्षिण कोरिया फर्किएको अभिलेखबाट देखिएको छ।

पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको ब्युरोले जनाएको छ। कोकेन लुकाइएको सुटकेस दिने र लिने क्रममा पासवर्ड प्रयोग भएको समेत अनुसन्धानबाट खुलेको छ।

प्रहरीले पक्राउ परेका दुवै जनाको साथबाट तीन किलो कोकेन, एक थान राहदानी, एक थान आधार कार्ड र दुई थान मोबाइल फोन बरामद गरेको छ।

बरामद कोकेनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ रहेको ब्युरोले जनाएको छ।

नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर अन्तर्राष्ट्रिय लागूऔषध कारोबार हुन सक्ने आशंकामा विदेशी नागरिकहरूको आपराधिक गतिविधि तथा पृष्ठभूमिबारे निगरानी र प्रोफाइलिङ गर्ने क्रममा उनीहरू पक्राउ परेको ब्युरोले जनाएको छ।

पक्राउ परेका दुवै विदेशी नागरिकमाथि थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित: Nov 29, 2026| 16:41 आइतबार, मंसिर १३, २०८३