काठमाडौं- चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिकमा नेपालमा सुनको आयात उल्लेख्य रूपमा घटेको छ। भन्सार विभागको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार यस अवधिमा चार अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको मात्रै सुन आयात भएको छ। परिमाणका आधारमा यो २११ किलो हो।
विभागको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै एक अर्ब १६ करोड ८६ लाख रुपैयाँ बराबरको ६१ किलो सुन भित्रिएको छ। तर, गत आर्थिक वर्षको सोही अवधिमा भने १५ अर्ब ७२ करोड ११ लाख रुपैयाँ बराबरको ९०२ किलो सुन आयात भएको थियो।
यसरी तुलना गर्दा चालू आवको पहिलो चार महिनामा सुनको आयात परिमाणका आधारमा ७६ दशमलव ६० प्रतिशतले घटेको देखिन्छ।अघिल्लो वर्ष सुनको मूल्य लगातार उकालो लाग्दा बजारमा माग कमजोर बनेको थियो। अहिले भने सुनको मूल्यमा उल्लेख्य गिरावट आएपछि माग बढ्न थालेको छ। तर, उपभोक्ताको मागअनुसार बजारमा सुन उपलब्ध हुन सकेको छैन। मूल्य घट्दा खरिद गर्न चाहने ग्राहक बढे पनि बजारमा सुनको अभाव कायम रहँदा कारोबार प्रभावित भएको छ।