आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माखबुँमा सामूहिक प्रयासबाट भव्य विष्णुनारायण मन्दिर निर्माण

माखबुँमा सामूहिक प्रयासबाट भव्य विष्णुनारायण मन्दिर निर्माण

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

ललितपुर- स्थानीयवासीको सामूहिक प्रयास, धार्मिक आस्था र सामाजिक एकताको उदाहरण प्रस्तुत गर्दै गोदावरी नगरपालिका-१४, ठैबस्थित माखबुँमा भव्य श्री विष्णुनारायण मन्दिर निर्माण सम्पन्न भएको छ। स्थानीयवासीको सक्रिय सहभागिता, आर्थिक तथा भौतिक सहयोग र सामूहिक समर्पणबाट निर्माण सम्पन्न मन्दिरले क्षेत्रको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

Machhapuchchhre

मन्दिर निर्माणका लागि रामेश्वर बोहरा र उहाँकी धर्मपत्नी अम्बिका बोहराले अमूल्य जग्गा दान गर्नुभएको थियो । धार्मिक तथा सामाजिक कार्यका लागि भूमिदान गरी महत्वपूर्ण योगदान पुर्‍याउनुभएको भन्दै बोहरा दम्पतीलाई विशेष समारोहबीच सम्मान तथा धन्यवाद व्यक्त गरिएको थियो। मन्दिर निर्माण अभियानको आधार बनेको जग्गादानलाई स्थानीयवासीले सामाजिक सेवाप्रतिको उदाहरणीय समर्पणका रूपमा लिएका छन्।

IMG-20261129-WA0000-1795937154.jpg
मन्दिर निर्माण अभियानमा माखबुँका स्थानीय टोलवासीको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीयवासीले आफ्नो क्षमता र सामथ्र्यअनुसार आर्थिक तथा भौतिक सहयोग जुटाउँदै निर्माण कार्यमा हातेमालो गरेका थिए। आपसी सहयोग, समन्वय र सामूहिक प्रतिबद्धताकै परिणामस्वरूप मन्दिर निर्माण सम्पन्न भएको हो। यस अभियानले धार्मिक आस्थालाई सामाजिक सद्भाव, सहकार्य र सामूहिक उत्तरदायित्वसँग जोड्दै समुदायमा एकताको सन्देश प्रवाह गरेको छ।

श्री विष्णुनारायण मन्दिर निर्माण समितिका संयोजक रामचन्द्र बेलबासेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नगर उपप्रमुख मुना अधिकारी तथा गोदावरी नगरपालिका-१४ का वडाध्यक्ष निरोज बज्राचार्य विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मिना पौडेलले गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय १० जनाभन्दा बढी ज्येष्ठ नागरिकलाई विशेष सम्मानसहित अतिथिका रूपमा आसन ग्रहण गराइएको थियो। ज्येष्ठ नागरिकप्रति सम्मान प्रकट गर्दै उनीहरूको अनुभव, योगदान र सामाजिक महत्वलाई आत्मसात् गरिएको यस कार्यले पुस्ताबीचको सम्बन्ध र सामाजिक सद्भावलाई थप प्रगाढ बनाएको थियो।

मन्दिर निर्माणका क्रममा आर्थिक तथा विभिन्न माध्यमबाट सहयोग पुर्‍याउने दाताहरूको योगदानको समितिले उच्च मूल्याङ्कन गरेको छ। पाँच हजार रुपियाँभन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र प्रदान गरी विशेष सम्मान गरिएको समितिले जनाएको छ। मन्दिर निर्माण अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण सहयोगदाताप्रति समितिले आभार व्यक्त गरेको छ।

स्थानीयवासीको सामूहिक प्रयास र बोहरा दम्पतीको भूमिदानबाट निर्माण सम्पन्न भएको श्री विष्णुनारायण मन्दिर अब माखबुँ क्षेत्रको धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापित हुने अपेक्षा गरिएको मन्दिर निर्माण समितिका संयोजक बेलबासेले बताउनुभयो। मन्दिरले नियमित धार्मिक गतिविधिलाई निरन्तरता दिनुका साथै स्थानीय मौलिक धर्म, संस्कृति, परम्परा र सामाजिक मूल्यहरूको संरक्षण तथा भावी पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

मन्दिर निर्माण तथा कार्यक्रमको सफल आयोजनामा सहयोग पुर्‍याउने जग्गादाता बोहरा दम्पती, स्थानीय टोलवासी, आर्थिक तथा भौतिक सहयोगदाता, जनप्रतिनिधि, समाजसेवी र सम्पूर्ण शुभेच्छुकप्रति श्री विष्णुनारायण मन्दिर निर्माण समितिले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

प्रकाशित: Nov 29, 2026| 13:11 आइतबार, मंसिर १३, २०८३