आइतबार, मंसिर १३, २०८३

४ महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिकमा २० अर्ब ४८ करोड रुपैयाँ ३७ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ। 

Machhapuchchhre

प्राधिकरणले साउनदेखि कात्तिक मसान्तसम्म आन्तरिक खपतपछि बचत भएको वर्षायामको दुई अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेशमा निर्यात गरेको हो। प्राधिकरणको केन्द्रीय भुक्तानी विभागको प्रारम्भिक तथ्याङ्क अनुसार पहिलो चौमासिकमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट आठ रुपैयाँ ५८ पैसा रहेको छ। 

कात्तिकमा मात्रै ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यात गरी चार अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ। उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट सात रुपैयाँ ६८ पैसा रहेको प्राधिकरणले जनाएको छ। महिनागत विवरणअनुसार साउनमा ६२ करोड ९८ लाख युनिट विद्युत् निर्यात गरी पाँच अर्ब १३ करोड ३९ लाख रुपैयाँ आम्दानी भएको थियो। भदौमा ५७ करोड ८७ लाख युनिट निर्यातबाट पाँच अर्ब २२ करोड ९२ लाख रुपैयाँ प्राप्त भएको थियो। त्यस्तै, असोजमा सबैभन्दा बढी ६५ करोड नौ लाख युनिट विद्युत् निर्यात भएको थियो। उक्त महिनामा ६ अर्ब पाँच करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। 

असोजमा विद्युत् बिक्रीको औसत दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको थियो। प्राधिकरणले आन्तरिक खपतपछि बचत भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतका हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ। त्यस्तै, नेपाल, भारत र बंगलादेशका निकायबीच भएको त्रिपक्षीय सम्झौता अनुसार बंगलादेशमा समेत विद्युत् निर्यात हुँदै आएको छ। 

प्रत्येक वर्ष वर्षायामको छ महिना अर्थात् जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशमा विद्युत् निर्यात गर्ने व्यवस्था छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ र बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुग्दा केही आयोजनाको उत्पादन बन्द भएको बताए। यसले चालु वर्ष विद्युत् निर्यात प्रभावित भएको उनको भनाइ छ। 

निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछि बचत भएको विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न प्राधिकरण सफल भएको उनले बताए। गत आर्थिक वर्ष २०८२/०८३ मा प्राधिकरणले तीन अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

सोही अवधिमा एक अर्ब १७ करोड युनिट विद्युत् आयात गरी १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरिएको थियो। गत आर्थिक वर्षमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो। यससँगै नेपाल पछिल्ला दुई वर्षदेखि विद्युत्को खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बनेको छ।

प्रकाशित: Nov 29, 2026| 12:41 आइतबार, मंसिर १३, २०८३