आइतबार, मंसिर १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वार्षिक लक्ष्यको २३.५८ प्रतिशत राजस्व संकलन, लक्ष्य भेट्टाउन अझै चुनौती

वार्षिक लक्ष्यको २३.५८ प्रतिशत राजस्व संकलन, लक्ष्य भेट्टाउन अझै चुनौती

 |  शनिबार, मंसिर १२, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १२, २०८३

काठमाडौं- सरकारले चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो चौमासिकमा वार्षिक लक्ष्यको साढे तीन खर्ब बढी राजस्व संकलन गरेको छ। चालू आवको पहिलो चौमासिक साउनदेखि कातिक मसान्तसम्म वार्षिक लक्ष्यको २३.५८ प्रतिशत राजस्व संकलन भएको हो। महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार चालू आवको पहिलो चौमासिकमा सरकारले वार्षिक लक्ष्यको तीन खर्ब ७२ अर्ब ७१ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

Machhapuchchhre

सरकारले चालू आवमा १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ। तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लले १९ अर्ब ६८ करोड १७ लाख रुपैयाँ बढाएर राजस्व प्राप्त गर्ने दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई ‘मिसन १६ खर्ब’ राजस्व संकलन गर्ने लक्ष्यका साथ अगाडि बढ्न निर्देशन दिएका छन्। मन्त्री वाग्लेले निर्देशन दिएसँगै विभागहरूले सक्रिय रुपमा राजस्व संकलनलाई तीव्रता दिएका छन्। 

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा तीन खर्ब २६ अर्ब ५५ करोड एक लाख रुपैयाँ राजस्व संकलन भएको थियो।अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार पछिल्लो तीन/चार महिनाको अवधिलाई हेर्दा मूल्य अभिवृद्धि करको वृद्धि अघिल्लो वर्षको तुलनामा झन्डै ३० प्रतिशतले बढेको छ। प्रत्यक्ष करको दायरातर्फ पनि झन्डै २० प्रतिशतको हाराहारीमा वृद्धि भएको उनले बताए।

पहिलो चार महिनाकोस्थिति राम्रो र अलि उत्साहित देखिएको बताउँदै प्रवक्ता लम्सालले गत वर्षको संकलनभन्दा यो वर्ष झन्डै २७ प्रतिशतले वृद्धि हुने लक्ष्य राखिएको र १६ खर्बको लक्ष्य पूरा गर्न झन्डै २७ प्रतिशत नै वृद्धि हुनुपर्ने उनको भनाइ छ।

सरकारले चालू आवको पहिलो महिना साउन वार्षिक लक्ष्यको ९२ अर्ब २२ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। यो लक्ष्यको ५.८४ प्रतिशत राजस्व संकलन हो। दोस्रो महिनादेखि राजस्व संकलनमा वृद्धि भएसँगै राजस्व संकलन पनि बढेको छ।

यस्तै, भदौमा एक खर्ब ८३ खर्ब २० करोड ६६ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो लक्ष्यको ११.५९ प्रतिशत राजस्व संकलन हो। असोज महिनामा दुई खर्ब ९८ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। यो लक्ष्यको १८.९ प्रतिशत हो।सरकारले राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गर्ने उद्देश्यका साथ दुई/तीन वटा सुधारका कामहरूलाई अगाडि बढाइएको जनाएको छ। अहिले व्यापारसमेत बढेको र खुल्ला सिमानाकामा सुधार आएसँगै राजस्व संकलनमा सकारात्मक प्रभाव परेको सरकारको दाबी छ।

करदाता प्रोत्साहन उपहार कार्यक्रम र नीतिगत सुधारलगायत बिलिङ प्रणालीले गर्दा पनि राजस्व संकलनमा ठूलो सहयोग पुगेको बताउँदै प्रवक्ता लम्सालले उपहार कार्यक्रमले राजस्व वृद्धिमा १० प्रतिशतभन्दा बढीको योगदानसँगै आयातसमेत बढ्दा कर संकलनमा वृद्धि भएको उनले बताए।

उनका अनुसार मुद्दाको छिनोफानो गर्दा मुख्य रकम तिरेमा ब्याज, दस्तुर र जरिवानाहरू मिनाहा वा छुट दिने व्यवस्था गरिएकाले गर्दा मंसिर मसान्तसम्म केही न केही योगदान गर्ने देखिन्छ।यस वर्ष करका क्षेत्रमा योगदान बढाइने र अनौपचारिक चुनौती वा खुला सिमानाकाबाट हुने आयातलाई अझ बढी निगरानी राख्दै भन्सारबाट मात्रै सामान भित्र्याउने नीति लिइने उनले बताए। 

विभिन्न कारणले उठ्न नसकेका बक्यौता रकमहरूलाई संकलन गर्न आवश्यक प्रावधानहरू दिइएको उनको भनाइ छ। उनका अनुसार बाढीले क्षति पुर्‍याएका ठाउँको पुनर्निर्माणका कामहरूले आगामी ५/६ महिनामा गति लिने र यसले अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग पुग्ने उनको विश्वास छ। 

क्षतिग्रस्त ठाउँको पुनर्निर्माण गर्दा निर्माण सामग्रीहरूको आयातले गर्दा थप अर्थतन्त्रलाई चलायमान बनाउने र पुँजीगत खर्च पनि बढ्ने उनले बताए।गत वर्ष निर्वाचनलगायत कारणले पुँजीगत खर्च केही फरक देखिए पनि यो वर्ष ४७ प्रतिशत हाराहारीमा रहने र पछिल्लो १० वर्षको औसत हेर्दा ६० प्रतिशतको हाराहारीमा पुँजीगत खर्च देखिने उनले बताए। सार्वजनिक खरिद प्रक्रिया र अन्य क्षेत्रमा गरिएका सुधारहरूले गर्दा पुँजीगत खर्चमा वृद्धि हुने र त्यसले अर्थतन्त्रमा सकारात्मक बाह्य प्रभाव पार्ने उनको भनाइ छ।

प्रकाशित: Nov 28, 2026| 17:52 शनिबार, मंसिर १२, २०८३