काठमाडौं- नेपाल बीमा प्राधिकरणमा बीमित र बीमा कम्पनीबीच देखिएका विवाद तथा असन्तुष्टिसम्बन्धी चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा ९४ वटा उजुरी फछ्र्यौट गरेको छ। प्राधिकरणमा कुल ३९३ वटा उजुरी मध्ये उक्त संख्यामा उजुरी फछ्र्यौट गरेपनि २९९ वटा उजुरी अझै विचाराधीन अवस्थामा रहेका छन्।प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा ७४ वटा नयाँ उजुरी दर्ता भएका छन्।
तीमध्ये प्राधिकरणको केन्द्रीय कार्यालयमा ५४ वटा र प्रदेश कार्यालयहरूमा २० वटा उजुरी दर्ता भएका हुन्। नयाँ दर्ता भएका उजुरी र गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ३१९ वटा उजुरी गरी कुल ३९३ वटा उजुरीमाथि प्राधिकरणले कारबाही प्रक्रिया अघि बढाएको थियो।गत आर्थिक वर्ष २०८२÷०८३ को सोही अवधिमा भने प्राधिकरणमा २०६ वटा नयाँ उजुरी दर्ता भएका थिए। तीमध्ये केन्द्रीय कार्यालयमा १४९ वटा र प्रदेश कार्यालयहरूमा ५७ वटा उजुरी परेका थिए। अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको असोज मसान्तसम्म नयाँ उजुरी दर्ता हुने संख्या घटेको देखिएको छ।त्यस्तै,गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका उजुरीको संख्या पनि यस वर्ष कम रहेको छ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका ३९४ वटा उजुरी थिए। नयाँ दर्ता भएका २०६ वटा उजुरीसमेत जोड्दा त्यस अवधिमा प्राधिकरणमा कुल ६०० वटा उजुरी कारबाहीका क्रममा रहेका थिए। चालू आर्थिक वर्षको सोही अवधिमा भने यस्तो संख्या ३९३ रहेको छ।प्राधिकरणले असोज मसान्तसम्म फछ्र्यौट गरेका ९४ वटा उजुरीमध्ये ७५ वटा फैसलामार्फत टुंग्याएको छ भने १९ वटा उजुरीका दुवै पक्षबीचको आपसी सहमति र सम्झौतामार्फत समाधान गरेको छ। यसले अधिकांश उजुरीको निरूपण आपसी सहमतिभन्दा कानुनी प्रक्रिया तथा फैसलामार्फत भएको तथ्यांकले देखाउँछ।गत आर्थिक वर्ष २०८२÷०८३ को असोज मसान्तसम्म भने प्राधिकरणले २८१ वटा उजुरी फछ्र्यौट गरेको थियो। तीमध्ये २०४ वटा फैसला र ७७ वटा आपसी सहमतिमार्फत टुंग्याइएको थियो।
गत वर्षको तुलनामा चालू आर्थिक वर्षको समीक्षा अवधिमा उजुरी फर्छ्यौट संख्या घटेको छ।यस वर्ष असोज मसान्तसम्म ९४ वटा उजुरी फछ्र्यौट भए पनि २९९ वटा अझै बाँकी छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३१९ वटा उजुरी विचाराधीन अवस्थामा थिए। यसरी हेर्दा विचाराधीन उजुरीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको भए पनि चालू आर्थिक वर्षमा फर्छ्यौट हुन बाँकी उजुरीको संख्या अझै उल्लेख्य छ।
बीमा दाबी भुक्तानीमा ढिलाइ हुनु, बीमा कम्पनीले दाबी अस्वीकार गर्नु तथा कम्पनीबाट प्राप्त सेवाप्रति असन्तुष्टि हुनुलगायतका कारण बीमितहरू प्राधिकरणमा उजुरी गर्न पुग्ने गरेका छन्। बीमितले आफ्नो दाबीअनुसारको भुक्तानी नपाएको वा बीमा कम्पनीबाट उचित सेवा नपाएको अवस्थामा नियामक निकायमा उजुरी गर्ने व्यवस्था छ। बीमितको हकहित संरक्षण र बीमा कम्पनीलाई थप जवाफदेही बनाउन यस्ता उजुरीको समयमै निरूपण गर्नु पर्नेमा नेपाल बीमा प्राधिकरणले भने उजुरी फर्छ्यौटको गति बढाउन नसकेको देखिन्छ।