काठमाडौं- टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।
स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र उनीहरूको आवागमन सहज बनाउने उद्देश्यले यो सहयोग गरिएको हो। प्रदान गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवाले ५–५ वटा प्राप्त गरेका छन्। त्यसैगरी विदुर नगरपालिकालाई २ वटा तथा नुवाकोट केन्द्रीय कारागार र त्रिशूली अस्पताललाई १-१ वटा मोटरसाइकल हस्तान्तरण गरिएको छ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रका संस्थाहरूसहित स्थानीय तहमा पनि मोटरसाइकल वितरण गरिएको छ। जसअनुसार त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, चण्डेश्वरी माध्यमिक विद्यालय, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई १-१ वटा मोटरसाइकल प्रदान गरिएको छ।
यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना तथा पुनरुत्थानमा टेवा पुर्याउने लक्ष्य राखेका छन्। आवश्यक आवागमन सुविधा प्राप्त हुँदा स्थानीय संस्थाहरूले दिने सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, व्यावसायिक गतिविधिभन्दा बाहिर रहेर पनि नेपालका समुदायको हित र विकासमा योगदान पुर्याउने प्रतिबद्धतालाई यो कदमले दर्शाएको छ।
कार्यक्रमबारे बोल्दै टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट - इन्टरनेसनल बिजनेस पेयमान कार्गरले नेपाल टीभीएसका लागि एक महत्त्वपूर्ण बजार रहेको उल्लेख गर्दै समुदायमा सकारात्मक योगदान पुर्याउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले विभिन्न संस्थाहरूलाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो।
शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएस मोटर कम्पनीका दुई तथा तीन पाङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ। दुवै कम्पनीले सहकार्यमार्फत नेपाली बजारमा उपस्थिति विस्तारसँगै स्थानीय समुदायलाई सहयोग गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन्।