काठमाडौं- कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली ‘एन-ट्याग’ (N-Tag) को बिक्री तथा वितरण सेवा सुरु गरेको छ। बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरूमार्फत उक्त सेवा उपलब्ध गराएको हो।
‘एन-ट्याग’ एक आधुनिक विद्युतीय टोल भुक्तानी प्रणाली हो, जसले सवारीधनीहरूलाई टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्न सक्षम बनाउँछ। सवारीसाधनको अगाडिको सिसामा एन-ट्यागको स्टिकर टाँसेपछि टोल बुथबाट गुज्रिँदा स्वचालित रूपमा रकम कट्टा भई सुरुङमार्ग हुँदै यात्रा गर्न सकिनेछ। यस व्यवस्थाबाट टोल बुथमा हुने अनावश्यक भीडभाड तथा लामो लाइन बस्नुपर्ने झन्झट कम हुनुका साथै यात्रुहरूको महत्वपूर्ण समयसमेत बचत हुने बैंकले जनाएको छ।
सेवाग्राहीहरूले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बरसहित नजिकको कुमारी बैंकको शाखामा सम्पर्क गरी सहज रूपमा एन-ट्याग प्राप्त गर्न सक्नेछन्। यसका साथै एन-ट्यागसम्बन्धी विस्तृत जानकारी तथा अनलाइनमार्फत दर्ता गर्ने प्रक्रिया कुमारी बैंकको आधिकारिक वेबसाइटबाटै पूरा गर्न सकिने व्यवस्था मिलाइएको छ।
डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको कुमारी बैंकले टोलमा नरोकी समय बचत गर्न र यात्रालाई थप सहज बनाउन सम्पूर्ण सवारीधनीहरूलाई आजै एन-ट्याग जडान गर्न आग्रहसमेत गरेको छ।