काठमाडौं- अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण ऐतिहासिक हुने अपेक्षा व्यक्त गरेका छन्। उनले आइतबार प्रधानमन्त्री शाहको भारत भ्रमणबारे प्रतिक्रिया दिँदै भ्रमणबाट नेपाल–भारत सम्बन्धमा नयाँ उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका हुन्।
‘हामी यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गर्छौं,’ वाग्लेले भने। भारतका लागि नेपालका पूर्वराजदूत शंकरप्रसाद शर्माले पनि प्रधानमन्त्री शाहको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ र दूरदर्शी आधार प्रदान गर्ने बताएका छन्। उनका अनुसार भ्रमणका क्रममा नेपालले पूर्वाधार निर्माण, ऊर्जा, पुनर्निर्माण तथा आर्थिक सहकार्यका क्षेत्रमा भारतको सहयोग र समर्थन खोज्नेछ।
शर्माले नेपाल र भारतबीच लामो समयदेखि छलफलमा रहेका सीमा समस्या र सन् १९५० को शान्ति तथा मैत्री सन्धिसम्बन्धी विषय पनि भ्रमणका क्रममा उठ्न सक्ने बताए। नेपालका लागि नयाँ हवाई प्रवेश मार्ग प्राप्त गर्ने विषय पनि महत्त्वपूर्ण रहेको उनको भनाइ छ।
उनले नेपालले प्रसारण लाइन निर्माण, अन्य पूर्वाधार आयोजना तथा भोटेकोशी क्षेत्रमा विपद्बाट विस्थापित भएका नागरिकको पुनर्निर्माणका लागि भारतबाट ऋण तथा सहयोग अपेक्षा गरेको बताए।
शर्माका अनुसार भ्रमणका क्रममा दुई देशबीचको आर्थिक सहकार्यसँग सम्बन्धित केही आयोजना संयुक्त रूपमा उद्घाटन हुन सक्नेछन्। उनले एकीकृत जाँच चौकी, तल्लो अरुण जलविद्युत् आयोजना र प्रहरी प्रतिष्ठानलाई सम्भावित आयोजनाका रूपमा उल्लेख गरे।
भारतको अयोध्याबाट नेपालको जनकपुरसम्म प्रस्तावित यात्रुवाहक रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र जनस्तरको सम्बन्ध थप बलियो बनाउने पनि उनले बताए।
अयोध्याबाट जनकपुर आउने पहिलो रेल सेवामा सहभागी हुन करिब ११०० जना यात्रु सहभागी हुने अपेक्षा गरिएको शर्माले उल्लेख गरे। यसले नेपालका नागरिकलाई अयोध्या, बनारसलगायत भारतका धार्मिक गन्तव्यमा पुग्न सहज बनाउने उनको भनाइ छ।
शर्माले प्रधानमन्त्री शाह नेतृत्वको सरकारको प्राथमिकता मुलुकभित्र भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहमा सुधार र आर्थिक वृद्धि तीव्र बनाउने रहेको बताए। वैदेशिक नीतितर्फ भारतको आर्थिक वृद्धिबाट लाभ लिने र विदेशी लगानी भित्र्याएर नेपालमा रोजगारी सिर्जना गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ। विशेषगरी ऊर्जा क्षेत्रमा नेपाल र भारतबीच आर्थिक साझेदारी विस्तार भइरहेको उल्लेख गर्दै उनले त्यसलाई थप अघि बढाउनुपर्ने बताए।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नोभेम्बर २२ देखि २३ सम्मको दुईदिने भारत भ्रमणमा छन्। गत मार्च २०२६ मा प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण तथा पहिलो द्विपक्षीय विदेश भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गर्ने र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ। एएनआई