मंगलबार, मंसिर १, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने- जेलमै ज्यान जान सक्छ

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने- जेलमै ज्यान जान सक्छ

 |  मंगलबार, मंसिर १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १, २०८३

काठमाडौं- पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनले छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका हुन्।

Machhapuchchhre

बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला जेलमा रहेका ७४ वर्षीय इमरानको स्वास्थ्य तीव्र रूपमा बिग्रिरहेको भन्दै तत्काल निजी अस्पतालमा स्थानान्तरण गर्न माग गरेका हुन्।

उनीहरूका अनुसार इमरानको रक्तचाप अत्यधिक बढेको छ। उचित उपचार र चिकित्सकीय निगरानीको व्यवस्था नगरिए जेलभित्रै उनको ज्यान जान सक्ने उनीहरूले चेतावनी दिएका छन्। ‘अहिलेको अवस्था हेर्दा उनी अन्ततः यही कोठरीमा मर्नेछन्। उचित उपचारबिना उनलाई त्यहाँ राखिरहे जेलभित्रै उनको हत्या हुनेछ,’ दुवै छोराले अन्तर्वार्तामा भनेका छन्।

उनीहरूले इमरानलाई दैनिक २२ देखि २३ घण्टासम्म एकान्त कारावासमा राखिएको र जेलका सुरक्षाकर्मीलाई समेत उनीसँग कुराकानी नगर्न निर्देशन दिइएको आरोप लगाएका छन्। यसले उनको शारीरिक अवस्थासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको उनीहरूको भनाइ छ।

इमरानका छोराहरूले गत अगस्ट १८ मा पाकिस्तानको सर्वोच्च अदालतले दिएको आदेशसमेत कार्यान्वयन नभएको बताएका छन्। उक्त आदेशमा इमरानलाई स्वास्थ्य परीक्षण तथा उपचारका लागि निजी अस्पताल शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गर्न र परिवारसँग नियमित कुराकानी तथा भेटघाटको व्यवस्था मिलाउन भनिएको थियो।

‘अगस्टमा सर्वोच्च अदालतले निजी अस्पतालमा उपचार गराउन र हामीसँग नियमित फोन सम्पर्कको व्यवस्था गर्न आदेश दिएको थियो। तर अहिलेसम्म केही परिवर्तन भएको छैन। उनको स्वास्थ्य अवस्था निरन्तर बिग्रिरहेको छ,’ उनीहरूले भने।

इमरान खानले पनि नोभेम्बर १६ मा अदियाला जेलबाट आफ्ना वकिलमार्फत सार्वजनिक गरेको खुला पत्रमा स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गरेका छन्। नोभेम्बर ११ मा तीन घण्टाको कानुनी परामर्शपछि वकिल ब्यारिस्टर सलमान सफदरमार्फत सार्वजनिक गरिएको पत्रमा उनले आफ्नो रक्तचाप १९२ देखि १९३ सम्म पुगेको बताएका छन्।

उनका अनुसार चिकित्सकहरूले मस्तिष्कमा रक्तस्राव र हृदयाघातको उच्च जोखिम रहेको बताएका छन्। उनको मुटुमा समेत क्षति पुगिसकेको पत्रमा उल्लेख छ। त्यस्तै, दाहिने आँखाको ८५ प्रतिशत दृष्टि गुमाएको र लामो समयदेखि एकान्त कारावासमा राखिएको उनले बताएका छन्।

गत अगस्ट १८ को सर्वोच्च अदालतको आदेशअनुसार दुई दिनभित्र उनलाई शिफा इन्टरनेसनल अस्पतालमा स्थानान्तरण गरी मुटुरोग विशेषज्ञ र आँखा विशेषज्ञसहितको चिकित्सकीय टोलीबाट परीक्षण गराउनुपर्ने थियो। तर सरकारी अधिकारीहरूले उनलाई केही समय सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) मा लगेर पुनः अदियाला जेल फर्काएको डनले जनाएको छ। पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले सुरक्षाको कारण देखाउँदै निजी अस्पताल स्थानान्तरण नगरिएको बताएका छन्। पीटीआईले भने उक्त तर्क अस्वीकार गरेको छ।

इमरानले आफ्नी पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्थाबारे पनि चिन्ता व्यक्त गरेका छन्। सन् २०२५ जनवरी १७ देखि जेलमा रहेकी बुशरा बीबीको सन् २०२६ अप्रिलमा आँखाको जटिल शल्यक्रिया गरिएको र त्यसपछि पनि दृष्टिसम्बन्धी समस्या कायम रहेको उनले पत्रमा उल्लेख गरेका छन्।

इमरानका छोराहरूले आफ्ना बुबासँग अन्तिमपटक गत मार्च २२ मा फोनमा कुराकानी गरेको बताएका छन्। उनीहरू सन् २०२२ नोभेम्बरयता बुबालाई प्रत्यक्ष भेट्न पाएका छैनन्। सन् २०२२ मा भएको हत्या प्रयासमा घाइते भएपछि उपचारका क्रममा भेटेका उनीहरूले त्यसयता प्रत्यक्ष भेटघाट गर्न नपाएको बताएका छन्।

इमरान खान सन् २०२३ अगस्ट ५ मा पक्राउ परेयता निरन्तर जेलमा छन्। उनका छोराहरूले नियमित फोन सम्पर्क र स्वतन्त्र चिकित्सकबाट उपचारको व्यवस्था गर्न माग गर्दै यसमा ढिलाइ भए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिएका छन्। एएनआई

प्रकाशित: Nov 17, 2026| 11:45 मंगलबार, मंसिर १, २०८३