काठमाडौं । गायक सुशान सुन्दासको स्वरमा रहेको नयाँ गीत ‘जे गर तिमी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। प्रेममा डुबेको एक जोडीको रोमान्टिक सम्बन्धसँगै उनीहरूको जीवनमा आइपर्ने उतारचढाव र अन्ततः वियोगसम्मको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ।
गीतको भिडियोमा अभिनेता देव नेपाली र मोडल करिश्मा श्रेष्ठ मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा उनीहरूलाई प्रेममा रमाइरहेको जोडीका रूपमा प्रस्तुत गरिएको छ। गहिरो प्रेममा रहे पनि कहिलेकाहीँ सानो कुराले सम्बन्धमा दरार ल्याउन सक्छ र त्यही दरारले प्रेमी–प्रेमिकालाई वियोगको अवस्थामा पुर्याउन सक्छ भन्ने भावलाई भिडियोले देखाउन खोजेको छ।
मौलाउँदै गएको प्रेम कसरी एकाएक परिवर्तन हुन सक्छ भन्ने कथालाई भिडियोमा विभिन्न दृश्यमार्फत प्रस्तुत गरिएको छ। प्रेमको सुरुवाती खुसी, एकअर्काप्रतिको आकर्षण र आत्मीयतादेखि सम्बन्धमा आउने असमझदारी तथा त्यसले निम्त्याउने दूरीसम्मका भावनालाई देव र करिश्माले अभिनयमार्फत प्रस्तुत गरेका छन्।
भिडियोमा देव र करिश्माको जोडीलाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ। प्रेममा रहेका दुई पात्रबीचको सम्बन्ध विस्तारै गहिरिँदै जाँदा उनीहरूको जीवनमा आउने एउटा सानो घटनाले कसरी परिस्थितिलाई बदलिदिन्छ भन्ने पक्षलाई कथाको मुख्य आधार बनाइएको छ। गहिरो प्रेम हुँदाहुँदै पनि सामान्य कुराले वियोग भोग्नुपर्ने अवस्थालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ। ‘जे गर तिमी’को शब्द तथा संगीत महेश ज्ञवालीको रहेको छ।
म्युजिक भिडियोको निर्देशन युवा पुस्तामाझ लोकप्रियता कमाइरहेका निर्देशक दिनेश बस्नेतले गरेका हुन्। पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका बस्नेतले गीतको भाव र कथालाई दृश्यमा उतार्ने प्रयास गरेका छन्। प्रेम र वियोगका फरक–फरक अवस्थालाई केन्द्रमा राखेर भिडियो तयार गरिएको छ।
यसअघि केही चलचित्र तथा म्युजिक भिडियोमा काम गरिसकेका देव नेपाली पछिल्लो समय अस्ट्रेलियामा रहेर विभिन्न क्षेत्रमा सक्रिय छन्। उनी गीत–संगीत, खेलकुद तथा व्यवसायसँग पनि जोडिँदै आएका छन्। अभिनयसँगै अन्य क्षेत्रमा समेत सक्रिय देवले वर्षमा दुईदेखि तीनवटा म्युजिक भिडियोमा काम गर्ने सोच बनाएका छन्। ‘जे गर तिमी’का निर्माता पनि देव नेपाली नै हुन्। भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका छन्।