दार्चुला। महाकाली नदीको एक किनारमा नेपाल छ, अर्को किनारमा भारत। नदीले दुई देशको सीमा छुट्याएको छ, तर वारिपारिका मानिसको भाषा, संस्कृति, रहनसहन र पारिवारिक सम्बन्धलाई छुट्याउन सकेको छैन।
कुनै समय दार्चुलाका सीमावर्ती बासिन्दाका लागि महाकाली नदी वारपार गर्नु सहज थिएन। दैनिक उपभोग्य वस्तु किनमेल गर्न, आफन्त भेट्न, उपचार गराउन तथा सामाजिक काममा सहभागी हुन नदी पार गर्नुपर्ने बाध्यता थियो। त्यसका लागि स्थानीयले तुइन र ट्युबको जोखिमपूर्ण यात्रा गर्नुपर्थ्यो।
समयक्रमसँगै महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण हुन थाले। तुइन विस्थापन कार्यक्रमअन्तर्गत विभिन्न स्थानमा पुल बने। अहिले दार्चुलामा नेपाल–भारत जोड्ने महाकाली नदीमाथि ११ वटा झोलुङ्गे पुल सञ्चालनमा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताए। एउटा काठे पुल र एउटा मात्र मोटरेबल पुल रहेको उनले बताए।
उनले भने, ‘झोलुङ्गे पुल ११ ओटा छन्, एउटा काठे पुल र मोटरेबल पुल छ त्यो चाडैं नै संचालनमा आउने छ।’
खलङ्गाको पुलघाट, दत्तु, सीतापुल, तिग्रम, जोलजीवी, लाली, बाँकु, बडूगाउँ, मालगाउँ र मलघट्टेमा बनेका पुलले सीमावर्ती नागरिकको आवागमन सहज बनाएका छन्। यी पुल नदी वारपार गर्ने संरचना मात्र नभैइ यिनले सीमावर्ती नागरिकको सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिएका छन्।
झोलुङ्गे पुलबाट मोटरेबल पुलसम्म
दार्चुलाको सीमावर्ती आवागमनमा अर्को महत्वपूर्ण पूर्वाधार थपिएको छ। महाकाली नगरपालिका–८ असिगडा र भारतको पिथौरागढ जिल्लाअन्तर्गत धारचुला क्षेत्रको छारछुम जोड्ने ११० मिटर लामो दुई लेनको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।
भारतीय सहयोगमा निर्माण भएको यो पुल सुदूरपश्चिमका पहाडी जिल्लामा नेपाल–भारत जोड्ने पहिलो मोटरेबल पुल हो। पुल निर्माणसँगै दार्चुला, बैतडी र बझाङका नागरिकका लागि भारतसँगको व्यापारिक तथा व्यावसायिक सम्पर्क विस्तार हुने अपेक्षा गरिएको छ।
पुलले के परिवर्तन ल्यायो?
सीमावर्ती क्षेत्रमा पुल निर्माण भएपछि स्थानीयको आवागमन सहज भएको छ। दैनिक उपभोग्य वस्तु खरिद गर्न, आफन्त भेट्न तथा सामाजिक सम्बन्ध कायम राख्न नदी पार गर्ने नागरिकलाई राहत पुगेको छ। मोटरेबल पुल सञ्चालनमा आएपछि भने व्यापार, पर्यटन, स्वास्थ्य सेवा र यातायातका क्षेत्रमा थप सम्भावना खुल्न सक्छ।
विशेषगरी दार्चुलाबाट भारतको पिथौरागढसम्म उपचारका लागि जाने बिरामीलाई सहजता हुने अपेक्षा गरिएको छ। त्यस्तै स्थानीय उत्पादन, जडीबुटी तथा कृषि उपजको व्यापार विस्तारमा समेत पुलले भूमिका खेल्न सक्नेछ।
महाकाली नदीले दुई देशको सीमा छुट्याइरहे पनि पुलहरूले मानिसबीचको सम्बन्ध जोडिरहेका छन्। दार्चुलाको विकास यात्रामा यी पुल केवल भौतिक संरचना होइनन्, सीमावर्ती नागरिकको सहज जीवन र सम्भावित समृद्धिका आधारसमेत हुन्।