काठमाडौं । छठ पर्व नजिकिएसँगै काठमाडौं उपत्यकाका नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ। काठमाडौंका विभिन्न स्थानमा छठ घाट निर्माण, सरसफाइ, सजावट तथा व्यवस्थापनको काम भइरहेको छ।
काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पर्व मनाउने तयारी गरिएको छ। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ। चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुहरू नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन्।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका पूर्वसचिव तथा सल्लाहकार नवलकिशोर यादवका अनुसार गौरीघाटमा गुह्येश्वरी घाटसम्म करिब ६०० पूजास्थल व्यवस्थापन गरिँदै छ। घाटमा सरसफाइ, टेन्ट, बत्ती तथा अन्य पूर्वाधार निर्माणको काम भइरहेको उनले बताए।
यस वर्ष पनि एउटा पूजास्थलका लागि १ हजार ५०० रुपैयाँ शुल्क निर्धारण गरिएको यादवले जानकारी दिए। आर्थिक अवस्था कमजोर भएका र शुल्क तिर्न नसक्ने व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने व्यवस्था पनि गरिएको उनले बताए।
यादवले छठ पर्वमा जातजाति, धर्म र समुदायबीचको विभेद नरहने बताउँदै यसलाई सामाजिक सद्भाव र एकताको पर्वका रूपमा व्याख्या गरे। उनका अनुसार एउटै जलाशयमा सबै जातजाति र धर्मावलम्बीले एकै ठाउँमा बसेर पूजा गर्ने भएकाले छठ सामाजिक समावेशिताको उदाहरणसमेत हो।
‘पहिले छठलाई मिथिला र मधेसमा मनाइने पर्वका रूपमा बुझिन्थ्यो। अहिले सबै जातजाति र धर्मावलम्बीले मिलेर मनाउने साझा पर्व बनेको छ। एउटै जलाशयमा सबैले सँगै बसेर पूजा गर्छन्। यहाँ जात, धर्म, धनी र गरिबबीच कुनै विभेद हुँदैन,’ उनले भने।
उनले छठ प्रकृति र मानव जीवनसँग जोडिएको पर्व भएको बताए। छठमा सूर्य, पानी, माटो, हावा र प्रकृतिको पूजा गरिने उल्लेख गर्दै नयाँ अन्न, फलफूल, उखु तथा माटाका भाँडालाई प्रसादका रूपमा प्रयोग गरिने उनले बताए।
यादवका अनुसार गौरीघाटमा छठ पूजाको व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोष, बागमती सभ्यता एकीकृत विकास समिति तथा विभिन्न संघसंस्थासँग समन्वय भइरहेको छ। घाटमा टेन्ट, बत्ती र पुल निर्माणको काम भइरहेको छ भने सुरक्षाका विषयमा समेत छलफल गरिएको छ।
उनले कात्तिक २८ गते बेलुकासम्म सरसफाइ, बत्ती जडान र पूजास्थलको सम्पूर्ण तयारी पूरा गर्ने लक्ष्य रहेको बताए।
यादवले छठका अवसरमा मात्रै नभई वर्षभरि नै बागमती नदी किनारको सरसफाइ र सौन्दर्यकरण हुनुपर्ने आवश्यकता औँल्याए। पर्वका बेला नदी किनार सफा गरिए पनि नियमित सरसफाइको व्यवस्था नहुँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
उनले भने,‘वर्षमा एकपटक छठ आउँदा मात्रै झिलिमिली बत्ती बालेर हुँदैन। यहाँ दिनहुँ सरसफाइ गर्ने टोली हुनुपर्छ। नदी किनारको नियमित सौन्दर्यकरण हुनुपर्छ,’ उनले भने, ‘अहिले पनि पूजापछि फूल, फलफूल र प्लास्टिक फाल्ने समस्या छ। यसलाई पूर्ण रूपमा रोक्न सकेका छैनौँ।’
उनले छठका बेला सुरक्षालाई पनि विशेष प्राथमिकता दिइएको बताए। विभिन्न संघसंस्थासँगको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्दै अहिलेसम्म कुनै अप्रिय घटना नभएको उनले जानकारी दिए।
छठ पर्वमा पूजा गर्न आर्थिक अवस्था कमजोर भएका व्रतालुलाई निःशुल्क पूजास्थल उपलब्ध गराउने गरिएको पनि यादवले बताए। ‘पूजा गर्न कसैलाई पनि पैसाकै कारण वञ्चित गराउँदैनौँ। १ हजार ५०० रुपैयाँ तिर्न नसक्नेले पनि यहाँ पूजा गर्न पाउँछन्,’ उनले भने।
छठ पर्वमा कात्तिक शुक्ल चतुर्थीदेखि व्रत सुरु गरी षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ।