बिहीबार, कात्तिक २६, २०८३

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

 |  बिहीबार, कात्तिक २६, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २६, २०८३

पर्सा- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ।

Machhapuchchhre

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्न तीन करोड १६ लाख ४० हजार किलो आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ।

धान आयातमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ। धान आयातको मूल्य अघिल्लो वर्ष एक अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकामा चालु आवमा घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, मकै आयात पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ। मकै आयातको मूल्यसमेत अघिल्लो वर्षको एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सार कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 12, 2026| 08:03 बिहीबार, कात्तिक २६, २०८३