मंगलबार, कात्तिक २४, २०८३
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो

तिहार सम्झँदै कलाकार : कसैलाई बाल्यकालको सम्झना कसैलाई झिलिमिलीको रमाइलो

 |  मंगलबार, कात्तिक २४, २०८३

भेषराज कार्की

भेषराज कार्की

मंगलबार, कात्तिक २४, २०८३

काठमाडौं। कलाकार प्रदीप पौडेललाई तिहार भन्नेबित्तिकै बाल्यकालमा देउसीभैलो खेलेका दिन सम्झना आउँछ। परिवार र छिमेकी मिलेर देउसीभैलो खेल्न जाँदा उनलाई भट्याउन लगाइन्थ्यो। अहिले पनि ती दिन सम्झँदा उनलाई रमाइलो लाग्छ। यसपटक भने विदेशमा बस्ने उनकी बहिनी तिहार मनाउन नेपाल आउँदै छिन्। त्यसैले प्रदीपका लागि यस वर्षको तिहार परिवारसँग भेटघाट गर्ने अवसर पनि बनेको छ।

Machhapuchchhre

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले तिहारमा पछिल्लो समयमा काठमाडौंको माहोल पनि विशेष लाग्ने बताउँदै सहर झिलिमिली हुने र सबैको घरमा छुट्टै रौनक देखिने बताए। 

बाल्यकालमा समूह बनाएर देउसीभैलो खेल्न जाँदा आफूलाई भट्याउन लगाइने गरेको उनले स्मरण गरे। 

उनले भने,‘मेरो बहिनी बाहिर बस्छिन। यो वर्ष चाहिँ तिहारमा आउँदै छिन्। अलि धेरै पछि भाइटीका हुन्छ। पहिला पहिला बच्चामा हुँदा देउसीभैलो खेल्न हिँडिन्थ्यो। अहिलेसम्म यसपटक के गर्ने भन्ने त्यस्तो योजना बनेको छैन। देउसीभैलो नखेलेको पनि तीन–चार वर्ष भइसक्यो। मलाई चाहिँ देउसीभैलो नै विशेष लाग्छ। स्कुल पढ्ने बेलामा सानो छँदा मामाघर र घरतिरको देउसी खेल्ने समूहले बोलाउने गर्थे। त्यहाँ गएपछि मलाई भट्याउन लगाउँथे। अहिले पनि तिहार सम्झँदा मुख्य रूपमा त्यही समय र ती दिनहरू नै याद आउँछन्।’

यस्तै ,अभिनेता पल शाहका लागि पनि तिहार बाल्यकालका सम्झना र बहिनीसँगको सम्बन्धसँग जोडिएको पर्व हो। उनलाई स्कुल पढ्दाको समयमा साथीहरूसँग समूह बनाएर घरघरमा देउसीभैलो खेल्न गएको अझै सम्झना छ। देउसीभैलो खेलेर जम्मा भएको पैसाले पिकनिक जाने गरेको उनी सुनाउँछन्। समयसँगै तिहार मनाउने शैली फेरिएको छ। पछिल्लो ५–६ वर्षदेखि उनले देउसीभैलो खेलेका छैनन्। अहिले आफैँ खेल्नुभन्दा अरूले खेलेको हेर्न रमाइलो लाग्ने उनी बताउँछन्।

पलका लागि भाइटीका पनि तिहारको मत्वपूर्ण पक्ष हो। उनकी बहिनी विदेशमा रहेकाले कहिले बहिनी नेपाल आउने त कहिले आफू बहिनीलाई भेट्न जाने गरेको उनी सुनाउँछन्। गत वर्ष भाइटीका लगाउन आफू न्युजिल्यान्ड पुगेको उनले बताए। बहिनी आफ्नो सबैभन्दा मिल्ने साथी भएको उल्लेख गर्दै उनले उनीसँगको भेटलाई तिहारको विशेष खुसीका रूपमा लिएका छन्।

त्यस्तै ,छायाँकार पुरुषोत्तम प्रधान भने नेवारी परम्पराअनुसार तिहार मनाउँछन्। तिहारको साँझ दिदीबहिनीहरू घरमा आएर टीका लगाइदिने गरेको उनी बताउँछन्। उनको तिहारमा परिवारसँगको भेटघाटले विशेष महत्त्व राख्छ। दिदीबहिनी, भान्जाभान्जी सबैसँग भेट हुने भएकाले हरेक वर्षको तिहार उनको प्रतीक्षाको पर्व बन्ने गरेको छ।

पेसाले छायाँकार भएकाले पनि होला तिहारमा देखिने झिलिमिली बत्ती र सजावटले पनि उनलाई आकर्षित गर्छ। सहरका घर, सडक र बस्तीमा बालिएका बत्तीले तिहारको माहोललाई थप रमाइलो बनाउने उनको अनुभव छ। कामको व्यस्तताबीच परिवारका सदस्यहरूसँग एकै ठाउँमा भेटघाट गर्न पाउनु नै तिहारको सबैभन्दा राम्रो पक्ष भएको उनी बताउँछन्।

कलाकार सिम्रन पन्तलाई भने तिहारमा गाउँमा मनाइने भैलोको सम्झना आउँछ। बाल्यकालमा राति गुन्यूचोली लगाएर गाउँमा भैलो खेल्न जाने गरेको क्षण उनी अझै बिर्सन सक्दिनन्। गाउँमा सबै मिलेर घरघरमा भैलो खेल्ने र चाडपर्व मनाउने चलनले छुट्टै रमाइलो दिने गरेको उनको सम्झना छ।

काठमाडौं आएपछि भने तिहार मनाउने शैली फेरिएको उनको अनुभव छ। गाउँमा जस्तो सबै परिवार र छिमेकी एकै ठाउँमा भेला भएर चाडपर्व मनाउने वातावरण काठमाडौंमा कमै पाइने उनी बताउँछिन्। सहरमा परिवारहरू आ–आफ्नै ठाउँमा सीमित हुँदा गाउँको सामूहिक रमाइलो सम्झनामा मात्र सीमित भएको उनको भनाइ छ। यसपटकको तिहार पनि उनी आफ्नै काम र पारिवारिक भेटघाटमा बिताउने तयारीमा छिन्।

जुना विश्वकर्मालाई पनि तिहारले बाल्यकालमा साथीहरूसँग देउसीभैलो खेलेका दिन सम्झाउँछ। साथीहरूसँग घरघरमा पुगेर देउसीभैलो खेल्ने, रमाइलो गर्ने र दक्षिणा जम्मा गर्ने क्षण उनका लागि तिहारका प्रिय सम्झना हुन्। भाइटीकाको दिन पनि उनको बाल्यकालको तिहारमा छुट्टै उत्साह हुने गथ्र्यो।

तर अहिले समय र जिम्मेवारीसँगै तिहार मनाउने तरिका फेरिएको छ। यस वर्ष उनी देउसीभैलो खेल्ने योजनामा छैनन्। काममै व्यस्त रहने भए पनि घरमा बत्ती बाल्ने र लक्ष्मीपूजा गरेर तिहार मनाउने उनको तयारी छ। बाल्यकालमा जस्तो देउसीभैलो खेल्न नपाए पनि तिहारको परम्परा र पारिवारिक माहोललाई भने उनले निरन्तरता दिँदै आएकी छन्।

कलाकारहरूका तिहार मनाउने तरिका र योजना फरक–फरक भए पनि उनीहरूका सम्झनामा बाल्यकालको देउसीभैलो, गाउँघरको रमाइलो र परिवारसँगको भेटघाट जोडिएका छन्। समयसँगै चाडपर्व मनाउने शैली फेरिए पनि तिहारले पुराना दिन र आफन्तसँगको सम्बन्धलाई फेरि सम्झाउने गरेको छ।

प्रकाशित: Nov 10, 2026| 15:31 मंगलबार, कात्तिक २४, २०८३