आइतबार, कात्तिक २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व

नरक चतुर्दशी : सत्कर्मको मार्ग अपनाउन प्रेरित गर्ने पर्व

 |  आइतबार, कात्तिक २२, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २२, २०८३

काठमाडौं- तिहारअन्तर्गत यमपञ्चकको एक महत्वपूर्ण दिन नरक चतुर्दशी धार्मिक, आध्यात्मिक र दार्शनिक दृष्टिले विशेष महत्व बोकेको पर्वका रूपमा मनाइन्छ। यस दिन स्नान, तर्पण तथा यमदीप दान गर्ने धार्मिक परम्परा रहेको छ।

Machhapuchchhre

सनातन हिन्दु दर्शनमा मानिसले गरेको कर्मअनुसार मृत्युपछि स्वर्ग वा नर्क प्राप्त हुने विश्वास रहिआएको छ। सत्कर्म गर्ने मानिस स्वर्ग जाने र नराम्रो कर्म गर्नेले नर्कको दुःख भोग्नुपर्ने धार्मिक मान्यता छ। यही मान्यतालाई स्मरण गराउने दिनका रूपमा नरक चतुर्दशीलाई लिने गरिएको छ।

धार्मिक विश्वासअनुसार वैतरणी नदी पार गरेपछि मात्र स्वर्ग पुग्न सकिन्छ। स्वर्ग र नर्कलाई एकअर्कासँग जोडेर हेर्ने सनातन दर्शनमा नर्कबिनाको स्वर्गको अस्तित्व र महत्वबारे पनि दार्शनिक व्याख्या गरिएको छ। नरक चतुर्दशीले मानिसलाई आफ्नो कर्म र त्यसको परिणामबारे सोच्न प्रेरित गर्ने मान्यता रहेको छ।

यस दिन बिहानै अरुणोदयकालमा नदी, तलाउ वा अन्य जलाशयमा गई स्नान तथा तर्पण गर्ने चलन छ। तिलको तेल शरीरमा दलेर स्नान गर्ने परम्परालाई नरके नुहाउने भनिन्छ। कार्तिक महिनाको चिसो मौसममा स्नान गरेपछि तिलका झिँगटा बालेर ताप्ने प्रचलनसमेत रहेको छ।

त्यसैगरी, नरक चतुर्दशीका दिन दक्षिण दिशातर्फ फर्काएर यमदीप बाल्ने र उक्त दीप नदी वा जलाशयमा बगाउने धार्मिक परम्परा छ। यसरी दीप बालेर बगाउँदा मृत्युपछि नर्कको यातना भोग्न नपर्ने धार्मिक विश्वास रहिआएको छ। दीप बगाउने यस कार्यलाई नरके बगाउने भनिन्छ।

नरक चतुर्दशी केवल धार्मिक विधि र परम्परामा सीमित पर्व नभई मानिसलाई असल कर्म गर्न, गलत कार्यबाट टाढा रहन र जीवनलाई सत्मार्गमा अघि बढाउन प्रेरित गर्ने दार्शनिक सन्देश बोकेको पर्वका रूपमा पनि लिइन्छ। सत्कर्मबाट जीवनलाई सार्थक बनाउनुपर्ने र आफ्ना कर्मप्रति जिम्मेवार हुनुपर्ने सन्देश यस पर्वले दिने गरेको छ।

नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक शालिग्राम ढकालले तिहारअन्तर्गत नरक चतुर्दशीको धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक महत्व रहेको बताएका छन्।

उनका अनुसार नरक चतुर्दशीका दिन चन्द्रोदयको समयमा स्नान गर्ने धार्मिक परम्परा छ। चतुर्दशीमा सूर्यभन्दा पहिले चन्द्रमा उदाउने भएकाले बिहान चन्द्रोदयको समयमा स्नान गरी तीर्थस्थलमा पूजा—अर्चना गर्ने चलन रहेको उनले बताए।

नरक चतुर्दशीमा स्नानसँगै दीपदान गर्नुको पनि विशेष महत्व रहेको ढकालले बताए। धार्मिक मान्यताअनुसार यममार्गमा यात्रा गर्दा अन्धकारको सामना गर्न नपरोस् र दीपको ज्योतिले बाटो उज्यालो बनाओस् भन्ने उद्देश्यले दीपदान गर्ने परम्परा सुरु भएको हो।

उनले नरक चतुर्दशीको स्नान र दीपदानलाई आध्यात्मिक दृष्टिले पनि बुझ्नुपर्ने बताए। जसरी झिसमिसे अन्धकारमा दीपको ज्योतिले उज्यालो फैलाउँछ, त्यसरी नै मानिसको जीवनमा ज्ञानको ज्योतिले मार्गदर्शन गर्न सकोस् भन्ने सन्देश यस पर्वले दिने उनले बताए। 

नरक चतुर्दशीका दिन चिसो मौसममा गङ्गा तथा तीर्थस्थलमा स्नान गर्ने, दीपदान गर्ने र तीर्थको पूजा—अर्चना गर्ने परम्परा रहेको उनले बताए। यद्यपि, व्यक्तिको अनुकूलताअनुसार धार्मिक विधि र पूजाआजा गर्न सकिने उनले बताए।

प्रकाशित: Nov 08, 2026| 07:10 आइतबार, कात्तिक २२, २०८३