शुक्रबार, कात्तिक २०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन

युद्ध अन्त्यका लागि सक्दो प्रयास गर्ने बारेमा इरानलाई पुटिनको आश्वासन

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

काठमाडौं- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानविरुद्ध जारी युद्ध अन्त्य गर्न आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएका छन्। साथै उनले इरानका आणविक केन्द्रमा भएको आक्रमणको निन्दा गर्दै इरानविरुद्धको युद्धलाई अन्यायपूर्ण भनेको इरानको सुरक्षा परिषद्का प्रमुख मेजर जनरल मोहसेन रेजाईले बताएका छन्।

Machhapuchchhre

क्रेमलिनमा पुटिनसँग भएको भेटवार्ताबारे जानकारी दिँदै रेजाईले रुसी राष्ट्रपतिले युद्ध अन्त्यका लागि आफूले सक्ने सबै प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका हुन्। इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार पुटिनले इरानका आणविक पूर्वाधारमा भएको बमबारीको समेत आलोचना गरेका थिए।

भेटमा क्षेत्रीय घटनाक्रम, युद्धपछिको अवस्था र क्षेत्रीय सुरक्षा व्यवस्थाबारे पनि छलफल भएको रेजाईले बताए। उनले इरानका सर्वोच्च नेताको सन्देश पुटिनसमक्ष पुर्‍याएको र पुटिनले पनि सर्वोच्च नेताका लागि आत्मीय अभिवादन पठाएको जानकारी दिए।

रुस र इरानबीच ऊर्जा सहकार्यका विषयमा समेत छलफल भएको छ। विशेषगरी रुसबाट इरानसम्म प्राकृतिक ग्यास पाइपलाइन निर्माण गर्ने विषयमा दुई पक्षबीच कुराकानी भएको रेजाईले बताएका छन्। उक्त पाइपलाइन निर्माण भए इरानले आफ्नो आन्तरिक ग्यास अभाव व्यवस्थापन गर्नुका साथै रुसी ग्यास छिमेकी मुलुकमा बिक्री गर्न सक्ने उनको भनाइ छ।

रुसको राजधानी मस्कोस्थित क्रेमलिन दरबारमा बिहीवार पुटिन र इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव रेजाईबीच भेटवार्ता भएको थियो। इरानको सरकारी टेलिभिजन एसएनएनले रुसी समाचार संस्था इन्टरफ्याक्सलाई उद्धृत गर्दै भेटवार्ताबारे जानकारी दिएको हो।

यसैबीच, अमेरिका–इरान वार्ताका प्रमुख वार्ताकारसमेत रहेका इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकी नेतृत्वको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै वासिङ्टनले आक्रामक नीति अपनाइरहेको र इजरायलको हितलाई प्राथमिकता दिइरहेको आरोप लगाएका छन्।

गालिबाफले अमेरिकी नेतृत्वलाई इजरायलको पक्षमा उभिँदा अमेरिका थप संकटतर्फ अघि बढिरहेको टिप्पणी गरेका छन्। मस्को र तेहरानबीच सुरक्षा, ऊर्जा सहकार्य तथा युद्धपछिको क्षेत्रीय व्यवस्थाबारे कूटनीतिक छलफल जारी रहेका बेला पुटिन र रेजाईबीचको भेटलाई क्षेत्रीय तनावका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ। एएनआई

प्रकाशित: Nov 06, 2026| 10:31 शुक्रबार, कात्तिक २०, २०८३