काठमाडौं। सरकारले किसानबाट धान खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद गर्न लागेको हो।
कम्पनीको महेन्द्रनगर शाखाले सुरुमा किसानबाट मोटा धान खरिद गर्नेछ। यसपछि अन्य जिल्लामा पनि क्रमशः धान खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ।
महेन्द्रनगर शाखाले कात्तिक १९ र २० गते कार्यालय परिसरबाट किसानलाई धान बिक्रीका लागि कुपन वितरण गर्ने जनाएको छ। कुपनमा उल्लेख गरिएको मितिमा किसानले कम्पनीको मापदण्डअनुसारको मोटा धान महेन्द्रनगरस्थित गोदाममा ल्याउनुपर्नेछ।
कम्पनीका अनुसार धान तौलने काम कात्तिक २७ गतेदेखि सार्वजनिक बिदाबाहेकका दिनमा सञ्चालन हुनेछ। धान बिक्री गर्न चाहने किसानले अनिवार्य रूपमा पहिले कुपन लिनुपर्नेछ। कम्पनीले तोकिएको मिति र आवश्यक कागजातसहित उपस्थित हुन किसानलाई आग्रह गरेको छ।
सरकारले मोटा धानको मुल्य प्रति क्विन्टल ३६६० रुपैयाँ र मध्यम धानको मुल्य प्रति क्विन्टल ३८६० तोकेको छ।
कृषि तथा वन मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच गत असोज २१ गते भएको भेटवार्तामा किसानको धान खरिदलगायतका विषयमा छलफल भएको थियो।