काठमाडौं- उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार केन्द्र बाइनान्समा भएको ६ अर्ब डलरभन्दा बढीको चोरीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।
अमेरिकी संघीय अनुसन्धान ब्युरोले उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको दाबी गरेपछि उत्तर कोरियाले त्यसलाई ‘उक्साहटपूर्ण र निराधार आरोप’ भनेको छ।
उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले अमेरिकी आरोपलाई बेतुका भन्दै वासिङ्टनले अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरियाबारे भ्रम फैलाउन खोजेको बताएकी छन्। उनले साइबर अपराधका घटनामा प्रमाणबिना उत्तर कोरियालाई जोड्ने अमेरिकी व्यवहारको आलोचना गरेकी छन्।
अमेरिकी अनुसन्धान ब्युरोले बाइनान्समा भएको चोरीमा ट्रेडरट्रेटर नामक ह्याकर समूहको संलग्नता रहेको दाबी गरेको छ। उक्त समूहले यसअघि बाइबिट कारोबार केन्द्रबाट पनि १ अर्ब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आरोप छ।
दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाली ह्याकरहरूले पाँच वर्षमा करिब १ अर्ब १० करोड डलर बराबरको क्रिप्टोकरेन्सी तथा भर्चुअल सम्पत्ति चोरी गरेका थिए। उत्तर कोरियाले भने यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ।
यसैबीच, उत्तर कोरियाले हतियार परीक्षणलाई पनि तीव्रता दिएको छ। उसले रणनीतिक क्रुज क्षेप्यास्त्रका लागि नयाँ क्लस्टर वारहेड परीक्षण गरेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइनान्समा भएको चोरीमा उत्तर कोरियाको संलग्नता पुष्टि भइनसकेको र अनुसन्धान भइरहेको बताएका छन्।