मंगलबार, कात्तिक १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतको तेलंगानातर्फ जाँदै चक्रवात 'मुरासु', हावाहुरी र भारी वर्षा

भारतको तेलंगानातर्फ जाँदै चक्रवात 'मुरासु', हावाहुरी र भारी वर्षा

 |  मंगलबार, कात्तिक १७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं- भारतको आन्ध्र प्रदेशमा आएको चक्रवाती आँधी मुरासु तेलंगानातर्फ अघि बढेको छ।

भारतीय मौसम विभागले आँधीको केही हिस्सा अझै आन्ध्र प्रदेशको तटीय क्षेत्रमा सक्रिय रहेकाले विजयवाडासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेको उल्लेख गरेको छ। विभागले मंगलबार साँझसम्म तीव्र हावाहुरी र भारी वर्षाको चेतावनी दिएको छ।

मुरासु सोमबार राति करिब १ बजे आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको थियो। त्यसक्रममा प्रतिघण्टा १२० किलोमिटरको गतिमा हावा चलेको थियो। मंगलबार बिहान ५: ३० बजेसम्म आँधीको केन्द्रले तटीय क्षेत्र पार गरेको मौसम विभागले जनाएको छ।

आँधीका कारण हजारौँ रूख ढलेका छन् भने सयौँ विद्युत् खम्बामा क्षति पुगेको छ। डुंगासमेत क्षतिग्रस्त भएका छन्। भारी वर्षाका कारण सडक तथा राजमार्ग डुबानमा पर्दा सवारीसाधन अलपत्र परेका छन्। बापट्लामा सबैभन्दा बढी २२२.४ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै नरसापुरमा १९८.६, ओङ्गोलमा १२०.२ र मछलीपट्टनममा ८३.९ मिलिमिटर वर्षा भएको छ।

मौसम विभागले आन्ध्र प्रदेशका तीन जिल्लामा रेड अलर्ट र अन्य जिल्लामा अरेन्ज अलर्ट जारी गरेको छ। आगामी १२ घण्टासम्म दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा जारी रहने अनुमान गरिएको छ। आँधी उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै मंगलबार दिउँसोसम्म कमजोर भएर चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको विभागले जनाएको छ।

यसैबीच, माछा मार्ने काममा संलग्नलाई आगामी दुई दिन समुद्रमा नजान चेतावनी दिइएको छ। बापट्लाको सूर्यलंका सडक आसपास आँधीले ढालेका रूख हटाउन राष्ट्रिय विपद् प्रतिकार्य बलका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

प्रकाशित: Nov 03, 2026| 13:44 मंगलबार, कात्तिक १७, २०८३