काठमाडौं। सन् २०२६ को अक्टोबर महिनामा नेपालमा १ लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको अक्टोबरको तुलनामा पर्यटक आगमन ५०.५ प्रतिशतले बढेको छ।
अक्टोबरमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आबद्ध मुलुकबाट २४ हजार ५३ जना पर्यटक नेपाल आएका छन्। यो कुल पर्यटक आगमनको १८.११ प्रतिशत हो। सार्क मुलुकमध्ये भारतबाट १२ हजार ९७, श्रीलङ्काबाट ५ हजार ५६०, बङ्गलादेशबाट ४ हजार ८९३, भुटानबाट १ हजार १०४, पाकिस्तानबाट ३५३, माल्दिभ्सबाट ४६ र अफगानिस्तानबाट ७ जना पर्यटक आएका छन्।
क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक युरोपबाट आएका छन्। युरोपबाट ३९ हजार ८७७ जना पर्यटक नेपाल भित्रिएका छन्। त्यस्तै, अन्य एसियाली मुलुकबाट २७ हजार ४०, अमेरिकी महादेशबाट २१ हजार २७०, ओसियानियाबाट १० हजार १४३, मध्यपूर्वबाट २ हजार ३३५ र अफ्रिकाबाट ४२१ जना पर्यटक आएका छन्। अन्य क्षेत्रबाट ७ हजार ६७५ जना पर्यटक भित्रिएका छन्।
कुल पर्यटक आगमनमा युरोपको हिस्सा ३०.०२ प्रतिशत, अन्य एसियाली मुलुकको २०.३६ प्रतिशत, सार्क क्षेत्रको १८.११ प्रतिशत र अमेरिकी महादेशको १६.०१ प्रतिशत रहेको छ।
सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्मको अवधिमा भने नेपालमा कुल १० लाख ८ हजार ६१६ जना विदेशी पर्यटक भित्रिएका छन्। यस अवधिमा सार्क मुलुकबाट मात्रै २ लाख ५५ हजार ४३६ जना पर्यटक आएका छन्।