आइतबार, कात्तिक १५, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • जर्मनीमा जेन-जी प्रदर्शन उग्र बन्दै, लुटपाट र प्रहरीसँग हिंसात्मक झडप

जर्मनीमा जेन-जी प्रदर्शन उग्र बन्दै, लुटपाट र प्रहरीसँग हिंसात्मक झडप

 |  आइतबार, कात्तिक १५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं- जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ।

शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन्। बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन्।

‘जेन्जी रेगेल्ट’ नामक अभियानको आह्वानमा हजारौँ युवाले प्रदर्शन गरेका थिए। उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, सरकारी खर्च कटौती रोक्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए। दिनभर भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि राति हिंसात्मक बनेका थिए।

प्रहरीका अनुसार प्रदर्शनकारीले पटाका, ढुङ्गा र बोतल प्रहार गरी सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीलाई निशाना बनाएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो।

फ्र्याङ्कफर्टको मुख्य किनमेल क्षेत्रमा प्रहरीले आवागमनसमेत बन्द गरेको थियो। घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा कुल १८ हजारसम्म मानिस सहभागी भएका थिए। अभियानकी प्रवक्ता लिना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन्। उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने तथा अनिवार्य सैन्य सेवाको भार न्यायोचित रूपमा बाँड्नुपर्ने मागसमेत राखेकी छन्।

जर्मनीमा भएको प्रदर्शन फ्रान्समा हालै भएका युवाको नेतृत्वका प्रदर्शनपछि भएको हो। फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए। 

युरोपका विभिन्न देशमा बढ्दो महँगी, सरकारी नीतिप्रति असन्तुष्टि र युवाका समस्या विरोध प्रदर्शनको मुख्य विषय बन्दै गएका छन्।

प्रकाशित: Nov 01, 2026| 12:30 आइतबार, कात्तिक १५, २०८३