काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को एक महिना अर्थात् असोजमा पौनै १३ अर्ब रुपैयाको मोबाइलको कारोबार भएको छ। नेपालीहरुको महान चार्ड दशैं र तिहारले गर्दा स्मार्टफोनको कारोबार वृद्धि आएको हो।
भन्सार विभागको तथ्यांक अनुसार असोज महिनामा मात्रै नेपालमा नौ अर्ब ७१ करोड रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएको छ। यस्तो आयातमा ५ प्रतिशत अन्तःशुल्क, १३ प्रतिशत भन्सारसहित १८.६५ प्रतिशत शुल्क आयात हुँदै थपिने र उपभोक्ताकोमा पुग्दा आयातकर्ता, विक्रेता र खुद्रा व्यापारसहितको मूल्य जोडिदा अर्को २० प्रतिशत जोडिने हुन्छ।
यसका आधारमा ४० प्रतिशतको मूल्य जोडिदा ९ अर्ब रुपैयाँको भन्सार मूल्यमा ३ अर्ब ६२ करोडको मूल्य जोडिने भएकोले पनि असोज महिनामा करिब १३ अर्ब रुपैयाँको मोबाइलको व्यापार भएको तथ्यांकले देखाउँछ। यसपाली असोजमा आयात भएको मोबाइल गत वर्षको असोजको तुलनामा करिब दोब्बर हो।
गत वर्ष पाँच अर्ब ४५ करोड भन्सार मूल्यको मोबाइल आयात भएकोमा यो वर्ष ९ अर्ब ७ करोड रुपैयाँ असोजमा मात्रै पुग्नुले पनि मासिक खपत उच्च भएको देखिएको छ।
गत वर्ष भदौमा चार अर्ब ७५ करोड र साउनमा तीन अर्ब ४१ करोड रुपैयाँ भन्सार मूल्यका मोबाइल नेपाल भित्रँदा यो वर्ष बढेको छ । यो वर्षको भदौमा पाँच अर्ब ८६ करोड र साउनमा तीन अर्ब ८७ करोड रुपैयाँको मोबाइल आयात भएको देखिएको छ ।
यो तथ्यांक अनुसार पछिल्लो तीन महिना (साउन असोज) मा कुल १८ अर्ब ८१ करोड रुपैयाँ भन्सार मूल्यका मोबाइल आयात भएको छ । यस्तो आयात गत वर्षको तुलनामा ३८ प्रतिशतले बढेको हो। गत वर्ष १३ अर्ब ६२ करोड रुपैयाँको मात्रै मोबाइल आयात भएको थियो।
यो आयातका आधारमा नेपाली बजारमा साउनदेखि असोजसम्ममा २६ अर्ब ३४ करोड रुपैयाँको मोबाइलको व्यापार भएको देखिन्छ। तीन महिनामा आयात भएको भन्सार मूल्यमा ४० प्रतिशतको थप मूल्यको रुपमा पाँच अर्ब १८ करोड रुपैयाँ जोडिँदा कारोबार रकम २६ अर्ब रुपैयाँ नाघेको हो।
नेपालीले महँगा मोबाइल बोक्न थालेका कारण पनि पछिल्लो तीन महिनामा नै अस्वाभाविक आयात भएको देखिएको छ। नेपालीहरू पछिल्लो समय बेसिक फोनबाट महँगा स्मार्टफोनमा सिफ्ट हुँदै जानुले पनि मोबाइल आयात बढेको नेपाल मोबाइल व्यवसायी बताउँछन् । साथै विश्वव्यापी चिप अभावका कारण स्मार्टफोनको मूल्य बढेको कारण पनि नेपालमा हुने कारोबारको अंक पनि बढेको छ।
विश्वव्यापी चिप अभावले पछिल्लो समय स्मार्टफोनको मूल्य ४० प्रतिशतसम्मले बढेको व्यवसायीको भनाइ छ। स्मार्टफोनमा प्रयोग हुने चिप बनाउने सीमित कम्पनीहरू हुनु र माग अत्यधिक बढ्नुले यसको असर बजारमा स्मार्टफोनदेखि प्रविधिको प्रयोग हुने अधिकांश विद्युतीय सामग्रीमा पर्न थालेको छ।
अन्तर्राष्ट्रिय स्तरमा देखिएको चिप अभावका कारण नेपाली बजारमा पनि मोबाइल फोनको मूल्य २० देखि ४० प्रतिशतसम्म बढ्न पुगेको छ। पछिल्लो समय विद्युतीय उपकरणहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग बढ्दै गएको छ र अन्तर्राष्ट्रिय बजारमा माइक्रोचिप्सको तीव्र अभाव भएको छ।घरायसी उपकरण (टिभी, पङ्खा, हिटर, फ्रिज र वासिङ मेसिन) देखि गाडी, ल्यापटप, स्मार्टवाच, ड्रोन, आधुनिक हतियार, लडाकु विमान, रडार र स्याटेलाइट प्रणालीसम्ममा चिपको प्रयोग हुन्छ।
यसका साथै मोबाइलमा नयाँ–नयाँ प्रविधिहरू आइरहेका छन्। मोबाइलमा प्रयोग हुने एआई फिचर र ५ जीसहितको प्रविधि जडानका कारण पनि मूल्य आकासिँदै गएको देखिएको छ।नेपाल मोबाइल वितरक संघका अनुसार मोबाइल मात्र नभई आधुनिक प्रविधि जडानका नाममा घरायसी उपकरणदेखि बाहिर प्रयोग हुने विद्युतीय सामग्रीहरूमा चिपको खपत अत्यधिक बढ्दै गएको छ।
यसकै कारण मोबाइल फोनका लागि चिपको अधिक माग भएसँगै मूल्य बढ्न पुगेको हो।चिप उत्पादक कम्पनीहरूमा सन् २०२८ सम्मका लागि बुकिङ भइसकेकाले त्योभन्दा अगाडि आउने विद्युतीय सामग्रीको भाउ अहिलेको भन्दा सस्तो नहुने पनि संघको भनाइ छ।अब चिप उत्पादक कम्पनीहरूले सन् २०२९ पछि मात्रै नयाँ अर्डर लिइरहेका छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा फैलिएको र सोहीअनुसारको सूचना आफूहरूलाई आइरहेको पनि नेपाली व्यवसायीको भनाइ छ।