काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने भएको छ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे हुने कार्यक्रममा सभापतिबाहेकका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिनेछन्। सभापति गगन थापाले यसअघि नै शपथ लिइसकेका छन्।
निर्वाचन समितिका अनुसार शपथ ग्रहणसँगै नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरी पदबहाली गराइनेछ। महाधिवेशनबाट सभापतिमा गगन थापा ९४ प्रतिशत मतसहित निर्वाचित भएका थिए। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका छन्।
नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै बस्ने तयारी छ। बैठकमा महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने तथा आगामी जिल्ला र प्रदेश अधिवेशनबारे छलफल हुने जनाइएको छ।