काठमाडौं- इथियोपियाली वायुसेवा निगमको मालवाहक विमानलाई पाइलट इन्डोनेसियाली नागरिक भएको कारण इजरायलमा अवतरण गर्न अनुमति नदिइएपछि बीच बाटोबाटै फर्काइएको छ।
इथियोपियाको राजधानी अदिस अबाबाबाट आएको विमानलाई आइतबार राति इजरायलले अवतरण अनुमति नदिएको हो। इजरायल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध छैन। पछि पाइलट परिवर्तन गरिएपछि विमानलाई इजरायल जान अनुमति दिइएको थियो।
विमानमा इन्धन धेरै भएकाले फर्कने क्रममा तौल घटाउन समुद्रमाथि इन्धन खसाल्नुपरेको थियो। विमान उडिसकेपछि मात्र चालकदलका सदस्यहरूको विवरण इजरायललाई पठाइएको बताइएको छ।
यो घटना दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमानमा दुई साताअघि एक पाइलटले सहपाइलटमाथि चक्कु प्रहार गरेको घटनापछि भएको हो। उक्त घटनापछि इजरायलले विदेशी वायुसेवाका पाइलट तथा चालकदलका सदस्यको सुरक्षा जाँच कडा बनाएको छ।
नयाँ नियमअनुसार इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल आउने उडानमा पाइलट वा चालकदलका सदस्यका रूपमा काम गर्न रोक लगाइएको छ। दोहोरो नागरिकता भएका व्यक्तिमा पनि यो नियम लागू हुने बताइएको छ।
इजरायली सुरक्षा निकायहरूले विदेशी वायुसेवाका कर्मचारीको जाँचमा कमजोरी रहेको भन्दै पहिले पनि चेतावनी दिएका थिए। पछिल्लो घटनापछि इजरायलले विदेशी वायुसेवाहरूलाई सुरक्षा नियमको पालना सुनिश्चित गर्न निर्देशन दिएको छ।