मंगलबार, असोज २७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • विपद्का कारण गोरखा-धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन

विपद्का कारण गोरखा-धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन

 |  मंगलबार, असोज २७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २७, २०८३

काठमाडौं- बाढी तथा पहिरोका कारण बागमती र गण्डकी प्रदेशका प्रमुख राजमार्ग एवं सडक खण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलबार बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीका कारण गोरखा–धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको र अन्य चारवटा सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको जनाएको छ। 

गोरखाको आरूघाट गाउँपालिकास्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध हुँदा गोरखा आरूघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा ठप्प बनेको छ। असोज २५ गते बिहानदेखि अवरुद्ध उक्त सडक अझै सञ्चालनमा आउन सकेको छैन।

यसैगरी, धादिङको धुनिबेशीस्थित खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी मात्र सञ्चालनमा रहेको छ।  

गण्डकी प्रदेशका अन्य हिमाली तथा पहाडी जिल्लाका सडकहरूमा पनि बाढी–पहिरोले असर पारेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्ड पहिरोका कारण एकतर्फी खुलेको छ। 

नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरको जन्ती पहिरोमा खसेको पहिरोले गर्दा सडक एकतर्फी मात्र सुचारु छ, जहाँबाट ठूला सवारी साधन सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ। त्यस्तै, मनाङ जोड्ने बेसीसहर–खाङ्सार सडक खण्ड पनि बाढीका कारण हाल एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

अवरुद्ध तथा आंशिक सञ्चालनमा रहेका सडकहरू पूर्ण रूपमा सुचारु गराउन प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 13, 2026| 08:14 मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्