सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले चालू आवमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना

सरकारले चालू आवमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना

 |  सोमबार, असोज २६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०८३

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ मा १५ हजार मेट्रिक टन धान खरिद गर्ने योजना बनाएको छ। सरकारले चालू आवमा ६७ करोड ५० लाख रुपैयाँ बराबरको धान खरिद गर्ने योजना लिएको हो। 

कृषि, वन तथा पर्यावरण मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा किसानको उत्पादन खरिद गर्ने तयारी गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धान खरिद गर्ने जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने भएकाले सम्बन्धित मन्त्रालयसँग समन्वय गर्दै खरिद प्रक्रिया अघि बढाउन आग्रह गरेकी छन्।

सरकारले चालू आवका लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेको छ। जसअनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६६० रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकेको छ। सरकारले निर्धारण गरेको समर्थन मूल्य कार्यान्वयनका लागि मन्त्री चौधरीले सम्बन्धित निकायसँग समन्वय गरिरहेकी छन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले धान खरिद प्रक्रिया दसैँ र तिहारको बीचमा सुरु गर्ने योजना बनाएको छ। सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरिद प्रक्रिया अघि बढाउँदा किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने अपेक्षा गरिएको छ। यसबाट बजारमा धानको मूल्यसम्बन्धी अनिश्चितता कम गर्न र किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सहयोग पुग्ने मन्त्री चौधरीको अपेक्षा छ। 

सरकारले समर्थन मूल्य तोके पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि खरिद प्रक्रिया समयमै सुरु हुनु र किसानको उत्पादन खरिद हुनु महत्त्वपूर्ण हुन्छ। प्रस्तावित १५ हजार मेट्रिक टन धान खरिद कार्यक्रम कार्यान्वयनमा आएमा किसानलाई आफ्नो उत्पादन बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Oct 12, 2026| 16:22 सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्