सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महामन्त्रीमा हारेपछि डा. सुनिल शर्माले भने- पार्टी रूपान्तरणको अभियान जारी रहनेछ

महामन्त्रीमा हारेपछि डा. सुनिल शर्माले भने- पार्टी रूपान्तरणको अभियान जारी रहनेछ

 |  सोमबार, असोज २६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज २६, २०८३

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ महामन्त्री पदमा पराजित भएपछि डा. सुनिल शर्माले पार्टी रूपान्तरण र जनसेवाको अभियान निरन्तर जारी राख्ने बताएका छन्।

शर्माले आफ्नो उम्मेदवारी कुनै पद प्राप्त गर्ने आकांक्षामा मात्र सीमित नभई कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने सङ्कल्प भएको बताएका छन्। उनले बीपी कोइरालाको विचार, लोकतान्त्रिक मूल्य मान्यता र जनसेवाको आदर्शलाई आत्मसात् गर्दै पार्टी र जनताबीचको सम्बन्ध सुदृढ बनाउने प्रतिबद्धता पनि दोहोर्‍याएका छन्।

उनले आफूलाई विश्वास गरेर अमूल्य मत दिने देशविदेशबाट आएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। आफ्नो चुनावी अभियानमा सक्रिय रूपमा खटिएका अग्रज, साथी, सहयात्री र शुभेच्छुकलाई पनि उनले धन्यवाद दिएका छन्।

निर्वाचनको परिणामले आफ्नो राजनीतिक जिम्मेवारी र पार्टी रूपान्तरणप्रतिको सङ्कल्प कमजोर नबनाएको उल्लेख गर्दै शर्माले यसबाट अझ परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा मिलेको बताएका छन्।

पदमा रहे पनि नरहे पनि दुर्गम क्षेत्रका नागरिकको सेवामा समर्पित रहने बताउँदै उनले कांग्रेसभित्र सकारात्मक परिवर्तन, सङ्गठन सुदृढीकरण र जनउत्तरदायी राजनीतिक संस्कार स्थापना गर्ने प्रयास निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शर्माले चुनावी प्रतिस्पर्धामा सहभागी सबै नेता, निर्वाचित पदाधिकारी तथा पार्टीका कार्यकर्ताप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा पनि उनीहरूसँगै रहेर पार्टी र जनताको हितमा काम गर्ने बताएका छन्। उनले जनताको सेवा र देशको समुन्नतिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन्।

प्रकाशित: Oct 12, 2026| 12:08 सोमबार, असोज २६, २०८३
प्रतिक्रिया दिनुहोस्