आइतबार, असोज २५, २०८३

भारतीय युट्युबर ध्रुव राठीसहित ककरोचका नेताहरु रिहा

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

काठमाडौं- भारतका चर्चित युट्युबर ध्रुव राठीलाई दिल्लीमा प्रस्तावित प्रदर्शनअघि नियन्त्रणमा लिइएकोमा राति रिहा गरिएको छ।

दिल्ली प्रहरीले प्रतिबन्धात्मक आदेश उल्लङ्घन गर्दै जन्तरमन्तर जाने प्रयास गरे फेरि नियन्त्रणमा लिन सकिने चेतावनी दिएको छ। दिल्ली प्रहरीले हरियाणाको गुरुग्रामस्थित सेक्टर–५६ मा रहेको निवासबाट राठीलाई नियन्त्रणमा लिएको थियो।

ककरोच जनता पार्टीले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेको थियो। मतदाता सूचीको विशेष सघन पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै पार्टीले प्रदर्शन आह्वान गरेको हो।

प्रदर्शनमा सहभागी हुन खोजेका दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, केरलका मुख्यमन्त्री पिनराई विजयन र त्रिपुराका पूर्वमुख्यमन्त्री माणिक सरकारसहित विपक्षी दलका नेताहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

यसैबीच, पार्टीका संस्थापक अभिजित दीपके, आशुतोष रांका र सौरभ दासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई दिल्ली क्यान्टस्थित कार्यकारी मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो। अदालतले जनही ५० हजार रुपैयाँको मुचलका र एक वर्षसम्म शान्ति कायम राख्ने सर्तमा रिहा गर्न आदेश दिएको छ।

प्रदर्शनलाई लक्षित गर्दै दिल्लीका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच, प्रदर्शनमा सहभागी हुन प्रहरीको जागिरबाट राजीनामा दिएको दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। दिल्ली प्रहरीले आफ्नो अभिलेखमा भिडियोमा उल्लेख गरिएअनुसारका प्रहरी सहायक निरीक्षक नभेटिएको भन्दै उक्त दाबी भ्रामक रहेको जनाएको छ। प्रहरीले अपुष्ट सूचना फैलाउनबाट बच्न र आधिकारिक जानकारीमा मात्र विश्वास गर्न आग्रह गरेको छ।

समाचारअनुसार, प्रदर्शनका क्रममा हालसम्म सात हजारभन्दा बढी मानिसलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: Oct 11, 2026| 12:55 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्