शुक्रबार, असोज २३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • इरानी तेल कारोबारमा संलग्न भारतीयसहितका कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

इरानी तेल कारोबारमा संलग्न भारतीयसहितका कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

काठमाडौं- अमेरिकाले इरानबाट उत्पादित तेल, पेट्रोलियम पदार्थ र पेट्रोरसायनको कारोबार गरेको आरोपमा १० संस्था, छ व्यक्ति र पाँच पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धमा भारत, संयुक्त अरब इमिरेट्स, टर्की, इरान र बेलायतसँग सम्बन्धित कम्पनी तथा व्यक्ति परेका छन्। प्रतिबन्धमा पाँच भारतीय नागरिकसमेत छन्।

भारतस्थित एसएसपीएल सोलुसन्सका सञ्चालक ध्वनि निसर्ग भोरा र निसर्ग समीर भोरामाथि सन् २०२५ मा करिब २० लाख अमेरिकी डलर बराबरका इरानी पेट्रोरसायन आयात गरेको आरोप छ। त्यस्तै, समुद्री सेवा प्रदायक कम्पनी समुन्द्र मरीन सर्भिसेजका तीन भारतीय सञ्चालकलाई पनि प्रतिबन्ध लगाइएको छ।

टर्कीको नुर्जाद पेट्रोकिम्या र संयुक्त अरब इमिरेट्सका अरेबियनप्रो मटेरियल्ससहित पानीजहाज व्यवस्थापन गर्ने दुई कम्पनी पनि प्रतिबन्धमा परेका छन्। ती कम्पनीले इरानी पेट्रोलियम पदार्थको कारोबार र ढुवानीमा सहयोग गरेको अमेरिकी आरोप छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत यी कदम चालिएको हो। इरानलाई तेल तथा पेट्रोरसायन बिक्रीबाट आम्दानी गर्न सहयोग गर्ने सञ्जाललाई कमजोर बनाउनु प्रतिबन्धको उद्देश्य रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

प्रकाशित: Oct 09, 2026| 14:31 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्