काठमाडौं- इजरायलमा रोजगारीका लागि पठाइदिने भन्दै ठगी गरिएको घटनामा पीडितलाई जाहेरी दिन नेपाल प्रहरीले आग्रह गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूचना जारी गर्दै घटनामा पीडित भएका व्यक्तिहरूलाई यथाशीघ्र जाहेरी दिन अनुरोध गरेको हो।
ब्युरोका अनुसार इजरायलको ‘केयरगिभर’ रोजगारीका लागि सन् २०२४ मा सञ्चालित परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका युवालाई तत्काल इजरायल पठाइदिने भन्दै ठगी गरिएको थियो। पहिलो चरणमा १५६ जना युवालाई लक्षित गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फर्जी कागजात देखाएर रकम असुलिएको सूचनामा उल्लेख छ।
पीडितहरूले दिएको जाहेरीअनुसार योजनाबद्ध रूपमा दुई करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिएको छ। घटनामा भरतप्रसाद चौलागाईंलगायत व्यक्तिहरू संलग्न रहेको आरोप छ।
उक्त घटनामा जिल्ला रामेछाप, सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरतप्रसाद चौलागाईंसहित चार जना पक्राउ परिसकेका छन्। उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐनअन्तर्गत मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
ब्युरोले घटनामा विभिन्न किसिमले ठगीमा परेका पीडित व्यक्तिहरूलाई सम्बन्धित प्रमाणसहित केन्द्रीय अनुसन्धान ब्युरोमा यथाशीघ्र जाहेरी दरखास्त दिन अनुरोध गरेको छ। साथै घटनामा थप पीडितहरू हुन सक्ने भएकाले उनीहरूको उजुरी संकलन गरी अनुसन्धान अघि बढाइने जनाइएको छ।