काठमाडौं- निर्वाचन आयोगले अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगसम्बन्धी प्रस्तुतीकरण, प्रविधि प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा विभिन्न देशका विज्ञहरूले अनलाइन मतदानको प्रविधि, प्रणाली सञ्चालन, मतदाता प्रमाणीकरण, साइबर सुरक्षा र अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिएका थिए। एसएमएआरटेकले अनलाइन मतदान प्रणालीको प्रत्यक्ष प्राविधिक प्रदर्शनसमेत गरेको थियो। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग आगामी दिनमा अनलाइन मतदानको दिशामा अघि बढ्ने बताएका छन्। त्यसका लागि प्रविधिगत तयारी, संस्थागत क्षमता विकास, साइबर सुरक्षा र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको उनको भनाइ थियो। निर्वाचन आयुक्त डा. राजीब सुब्बाले अनलाइन मतदानका लागि सरकारी निकायमा उपलब्ध सूचना प्रविधिसम्बन्धी जनशक्ति, सीप र क्षमताको नक्साङ्कन आवश्यक रहेको बताए। डिजिटल पहिचान, मतदाता प्रमाणीकरण, तथ्यांक आदानप्रदान, साइबर सुरक्षा र प्रणाली अन्तरआबद्धतामा समेत तयारी आवश्यक रहेको उनले उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण, राहदानी, अध्यागमन, नेपाल प्रहरीलगायत विभिन्न सरकारी निकायका २४ भन्दा बढी सूचना प्रविधि प्रमुख तथा प्रतिनिधि सहभागी थिए। उनीहरूले डिजिटल पहिचान, तथ्यांक संरक्षण, प्रणाली अन्तरआबद्धता र साइबर सुरक्षासम्बन्धी अनुभव तथा सुझाव प्रस्तुत गरेका थिए।
आयोगका अनुसार कार्यक्रमले नेपालमा सम्भावित अनलाइन मतदान प्रणाली कार्यान्वयनका लागि आवश्यक प्रविधि, जनशक्ति, संस्थागत क्षमता, साइबर सुरक्षा, तथ्यांक संरक्षण तथा अन्तरनिकाय समन्वयबारे आधार तयार गरेको छ।