मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ गतेदेखि २८ सम्म हुने

प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ गतेदेखि २८ सम्म हुने

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- विभिन्न १३ वटा देशका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ गतेदेखि २८ सम्म हुने भएको छ।

मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गतको संसदीय सुनुवाइ समिति बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ गतेदेखि गर्ने निर्णय गरेको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिएका छन्।

असोज २६, २७ र २८ गते सुनुवाइका लागि मिति तोकिएको हो। सभापति श्रेष्ठका अनुसार आजको बैठकमा प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी खोलि समिति सदस्यहरूलाई वितरण गरिएको थियो। प्रस्तावित राजदूतविरुद्ध ७ वटा उजुरी परेका छन्।

असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ। जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरेको छ। त्यस्तै, संयुक्त अधिराज्यका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जबराराणा, जापानका लागि जिज्ञनकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्तावित राजदूतका रूपमा अघि सारिएको छ। जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल तथा दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको छ। यसैगरी, श्रीलंकाका लागि डा. मञ्चल झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारलाई राजदूतका रूपमा सिफारिस गरिएको छ। 

संसदीय सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित देशबाट सहमति प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने र त्यसपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रकाशित: Oct 06, 2026| 13:33 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्