मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि तत्काल ६३ अर्ब रूपैयाँ आवश्यक

पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि तत्काल ६३ अर्ब रूपैयाँ आवश्यक

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा दुई खर्ब २७ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति पुगेको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। उनका अनुसार विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि तत्काल करिब ६३ अर्ब रुपैयाँ आवश्यक छ। सचिव मैनालीले विपद्बाट आवास, सडक, पुल तथा खानेपानीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको जानकारी दिए। 

प्रारम्भिक मूल्याङ्कनअनुसार निजी तथा सार्वजनिक भवनमा सबैभन्दा बढी क्षति भएको छ। सात हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवनमा गरी एक खर्ब तीन अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।यस्तै, सडक सञ्जालमा २० अर्ब रुपैयाँ, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा दुई अर्ब ६५ करोड तथा खानेपानी र सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ। 

मन्त्रालयका अनुसार समग्र क्षति १.४८ अर्ब अमेरिकी डलर अर्थात् करिब दुई खर्ब २७ अर्ब रुपैयाँ बराबर पुगेको छ। सचिव मैनालीले जलवायुजन्य विपद्बाट भएको क्षतिको यो आकारले जलवायु न्यायका लागि प्राप्त हुने वैदेशिक सहयोगको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको बताए।उनले क्षतिको प्रारम्भिक विवरण भएकाले विस्तृत मूल्याङ्कनपछि वास्तविक क्षतिको यकिन तथ्याङ्क आउने बताए। उनका अनुसार कनेक्टिभिटी पुनःस्थापनालाई प्राथमिकतामा राखेर क्षतिग्रस्त २० वटा झोलुङ्गे पुलमध्ये १२ वटा मर्मत भइसकेका छन्।बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माण भइरहेको र धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने काम अघि बढिरहेको उनले जानकारी दिए। 

पुनःस्थापनाका लागि आवश्यक जग्गा पहिचान भइसकेको पनि उनले बताए।विपद्बाट प्रभावित परिवारका लागि तत्काल करिब ३०० वटा ट्रान्जिसनल सेल्टर निर्माण गर्ने तयारी भइरहेको छ। आगामी दसैँअघि नै ती अस्थायी आवास निर्माण गर्ने गरी डिजाइन तथा निर्माणको काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। सडक तथा पुलसहितको कनेक्टिभिटी सुधारलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको सचिव मैनालीले बताए। त्रिशूली करिडोरमा अवरुद्ध सडक खुलाउने तथा बेलिब्रिज निर्माणलाई तीव्रता दिइएको छ।

प्रकाशित: Oct 06, 2026| 12:08 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्