मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, १०६४ जना उत्कृष्ट अभिकर्ता सम्मानित

नेपाल लाइफको ‘स्टार अवार्ड’ श्रृंखला सम्पन्न, १०६४ जना उत्कृष्ट अभिकर्ता सम्मानित

 |  मंगलबार, असोज २०, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २०, २०८३

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२-८३’ कार्यक्रमको श्रृंखला सफलतापूर्वक सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गर्दै थप व्यावसायिक रूपमा सक्षम र उत्प्रेरित बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम देशका आठ प्रमुख सहरहरूमा भव्यताका साथ सम्पन्न भएको हो।

कम्पनीले असोज ४ गते इटहरी, असोज ५ गते बर्दिबास, असोज ७ गते बुटवल, असोज ८ गते नारायणगढ, असोज ११ गते काठमाडौं, असोज १२ गते धनगढी, असोज १३ गते सुर्खेत र असोज १५ गते पोखरामा यो अवार्ड कार्यक्रम आयोजना गरेको थियो। कुल २५८१ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको यस श्रृंखलामा १०६४ जना उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई ‘स्टार अवार्ड’बाट सम्मानित गरिएको छ।

कार्यक्रममा बोल्दै नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहकसँगको सम्बन्ध निर्माणको मुख्य आधार भएको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र व्यावसायिक आचरणलाई केन्द्रमा राखेर कार्य गर्न आग्रह गर्दै बीमा सेवाप्रति आमविश्वास थप बलियो बनाउन सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे। साथै, हालैका विपद्का घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित अभिकर्ता तथा बीमितहरूका लागि आवश्यक सहयोगको पहल भइरहेको जानकारी समेत दिए।

त्यसैगरी, नेसनल सेल्स हेड उमापति पोखरेल, पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी र बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै अझ बढी ऊर्जा र प्रतिबद्धताका साथ अघि बढ्न प्रेरित गरे। कार्यक्रममा मोटिभेसन तथा सेल्स प्रशिक्षक किशु झाले सबै स्थानमा अभिकर्ताहरूलाई प्रशिक्षण प्रदान गर्नुभएको थियो।

नेपाल लाइफले यस ‘स्टार अवार्ड’लाई केवल सम्मान कार्यक्रममा मात्र सीमित नराखी अभिकर्ताहरूको प्रेरणा, ज्ञान अभिवृद्धि, व्यावसायिक क्षमता विकास तथा अनुभव साटासाट गर्ने महत्वपूर्ण मञ्चका रूपमा सञ्चालन गरेको जनाएको छ।

प्रकाशित: Oct 06, 2026| 11:50 मंगलबार, असोज २०, २०८३
प्रतिक्रिया दिनुहोस्