काठमाडौं। नेपाल–भारत सीमानाकामा दैनिक उपभोग्य वस्तु तथा लत्ताकपडाको अवैध ओसारपसार (क्यारिङ) का गतिविधि बढ्दै गएको छ। सीमा क्षेत्रका विभिन्न नाकाहरूमा स्थानीय बासिन्दा, महिला तथा पुरुष व्यक्तिहरूले साइकल, सिटी रिक्सा र बोकेरै दैनिक रूपमा थोरैदेखि धेरै परिमाणसम्म दैनिक सामान ल्याउने गरेका छन्।
सामान ओसारपसार गर्ने व्यक्तिहरूलाई एकीकृत चेकजाँच र संक्षिप्त प्रज्ञापन पत्र प्रणालीमार्फत यसलाई व्यवस्थापन तथा नियन्त्रणको प्रयास गरिएको छ। खुल्ला सीमाका कारण यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न कठिनाइ भएको छ।मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले सीमा क्षेत्रमा दैनिक ओसारपसार (क्यारिङ) का रूपमा एक सय जनाको हाराहारीमा मानिसहरू विभिन्न माध्यमबाट नेपाल–भारत आवतजावत गर्ने गरेको बताए।
उनका अनुसार यसरी आउने जाने क्रममा करिब एक सयभन्दा बढी महिलाहरू समेत संलग्न रहने गरेका छन्। महिला समूहका व्यक्तिहरूले आफ्नो सहजता र आवश्यकता अनुसार विभिन्न माध्यमहरू प्रयोग गर्दै सामान ओसारपसार गर्ने गरेका छन्।
उनले भने,‘कोहीले साइकल प्रयोग गर्छन्। कोहीले सिटी रिक्सा वा अन्य माध्यम प्रयोग गर्छन्। धेरैले साइकल नै प्रयोग गर्छन्। केहीले साइकल आफैँ बोकेर वा सिटी रिक्सामा राखेर ल्याउने गर्छन्। कतिपयले टाउको वा हातमा बोकेर पनि ल्याउने गर्छन्।’
सीमापारिबाट दैनिक उपभोग्य वस्तुहरू तथा घरायसी सामानहरू ल्याउने क्रममा दुई वा तीन किलोदेखि लिएर १०/१५ किलोसम्म वा आवश्यकता अनुसार दुई/चार वटा पिसदेखि १०/१५ पिससम्म सामान ल्याउने गरेको उनले बताए। सिमानाकाबाट कपडा तथा चिनीजस्ता खाद्यान्न सामग्रीहरू ल्याउँदा कसैले थोरै परिमाणमा र कसैले अलि बढी परिमाणमा ल्याउने गरेका छन्।
एक सय जना मानिसहरूले एकैनासले दैनिक रूपमा सामान नबोक्ने भए पनि समग्रमा सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारणहरूले घरायसी प्रयोजनका लागि यस किसिमको माध्यम र तौरतरिका अपनाउने गरेको उनको भनाइ छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) काँकडभिट्टाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) योगबहादुर थापाका अनुसार सिमानाकामा पहिलादेखि नै एक सय भन्दा बढी महिलाहरूले सामान बोक्ने अनौपचारिक ‘क्यारिङ’ कार्य गर्दै आइरहेका रहेछन्।
महिलाहरूले अरू सामान ओसारपसार भन्दा पनि सबै भन्दा बढी जस्तो सामान लत्ताकपडा नै बोक्ने गरेको उनले बताए। क्यारिङमार्फत महिलाहरूले किराना पसलको सामान रिक्सामा नभई साइकलको प्रयोग गर्ने गरेको भए पनि कपडाहरू रिक्सामा ल्याउने गरेका छन्। उनका अनुसार रिक्सामा प्रायः कपडाहरू ल्याइने र रिक्साभित्र लुकाएर वा भित्री भागमा राखेर ओसार्ने गरिएको पाइन्छ। अर्कातर्फ, साइकलमा कपडा नभई चिनी, कुरकुरे, चाउचाउ, दाल जस्ता किराना सामानहरू थोरै–थोरै परिमाणमा झुन्ड्याएर ल्याइने गरिएको छ।
उनले भने,‘तराईमूलक जस्ता देखिने मानिसहरूले साइकलमार्फत किराना सामग्रीहरू ओसार्ने गर्छन्। मौका वा अवसर पाउँदा उनीहरूले दिनमा ५/७ पटकसम्म पनि सामान ओसारपसार गर्ने गरेका छन्। विशेष गरी कपडा बोक्ने कार्यमा भने महिलाहरूको नै प्रमुख सहभागिता रहेको छ।’
घरेलु प्रयोजनका नाममा ल्याइने सामानका लागि पाँच हजार रुपैयाँसम्मको मूल्य बराबरको संक्षिप्त प्रज्ञापन पत्र काटेर भन्सार प्रक्रिया पूरा गर्ने गरिएको छ। काँकडभिट्टा नाकाको भौगोलिक अवस्था विशेष खालको भएकाले यहाँ चोरी निकासीको सम्भावना निकै कम छ। उनका अनुसार यस नाकाबाट चिनी बढी जस्तो निर्यात नभएर किराना पसलका सामान कुरकुरे, चामल, दाललगायत सुर्तीजन्य सामानहरू समेत ल्याउन गर्छन्।
उनले भने,‘त्यो ठ्याक्कै नोट आउँट यत्ति चोटि गर्नु हुन्छ भनेर हामीले नोट आउँट गर्या छैन। अवसर पाउनु भयो भन्ने एउटै व्यक्ति दिनमा ५ देखि ७ पटकसम्म पनि ओहोरदोहोर गर्नु सक्नु हुन्छ।’ क्यरिङमार्फत कपडाको ओसारपसार सम्बन्धी काम गर्ने बढी जस्तो महिलाहरू नै रहेका छन्। त्यसपछि अन्य क्यारिङमार्फत साइकलको प्रयोग गरेर सामान ओसारपसारको काम गर्ने पुरुषहरू पनि रहेका छन्।
मेची नदी र काँसघारीका कारण अन्य क्षेत्रबाट आउने विकल्प नभएको र सीधा पुलबाट आउँदा भन्सार परिसरमै आइपुग्ने भएकाले सीमा नियन्त्रण सहज भएको प्रमुख डिएसपी थापाले बताउँछन्। साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका प्रतिनिधिहरू एकै ठाउँमा बसेर एकीकृत चेकजाँच गर्ने र सामान रुजु गरेपछि मात्र संक्षिप्त प्रज्ञापन पत्र काटेर पठाउने प्रणाली लागू गरिएको छ।
विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले सीमा क्षेत्रमा हुने सामान ढुवानीमा साइकल, बोकेर, मोटरसाइकल, सिटी रिक्सा तथा गाडीलगायतका सबै माध्यमबाट आवतजावत हुने गरेको बताए। तर, बसबाट भने अहिलेसम्म सामान आवतजावत भएको छैन।
उनले भने,‘प्रहरीहरू बसिराख्ने ठाउँमा वा जुन ठाउँमा प्रहरी छ, त्यतिखेर पनि ल्याउने गर्छन्। कति केसमा दिनभरिको कलेक्सन गरेर एकै चोटि पनि ल्याउने गरेको पाइएको छ। मानिसले बोक्ने किसिमका सामानहरू एकमुस्ट रूपमा दिनभरिमा जम्मा गरेर ल्याउने गर्छन्।’
उनले दिनमा कति पटक सामान ओसारपसार गर्छन् भने विषयमा ठ्याक्कै संख्या भन्न नसकिने तर, प्रहरीहरू खटिएका स्थानमा उनीहरूले नै त्यसलाई व्यवस्थापन गर्ने गरेको बताए। भन्सारको मूलबाट वा बाहिरबाट आउनेहरूको संख्या दैनिक डेढ/दुई सय जना जति हुनसक्ने उनको भनाइ छ।