काठमाडौं- नेपाली काँग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ।
सोमबार, खुलामञ्चमा बसेको कांग्रेसको अन्तिम केन्द्रीय कार्यसमितिको बैठकले पदाधिकारीको संख्या २३ पुर्याउने भएको हो।
कांग्रेसले उपसभापतिको संख्या तीन बनाउने भएको छ। एक जना वरिष्ठ उपसभापतिसहित तीन उपसभापति रहने भएका छन्। त्यस्तै, महामन्त्रीको संख्या २ बाट बढाएर ३ बनाइने भएको छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ।
त्यसैगरी, सहमहामन्त्रीको संख्या आठ बाट १५ पुर्याइएको छ, जसमध्ये चार जना सभापतिबाट मनोनित हुने छन्। कोषाध्यक्ष भने यसअघि जस्तै सभापतिले मनोनित गर्ने व्यवस्था कायम राखिएको छ।
यसअघि कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था थियो। त्यस्तै, सहमहामन्त्रीको संख्या आठ थियो।
त्यस्तै केन्द्रीय कार्यसमितिको संख्या २३२ सदस्यीय हुने बताइएको छ। जसमा महाधिवेशनबाट १७१ जना निर्वाचित हुने छन् भने ६१ सभापतिले मनोनित गर्ने छन्।