सोमबार, असोज १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार

महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार

 |  सोमबार, असोज १९, २०८३

सन्तोषी रावल

सन्तोषी रावल

सोमबार, असोज १९, २०८३

काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशनस्थल आइतबार नेता–कार्यकर्ताको राजनीतिक जमघटमा मात्र सीमित रहेन। महाधिवेशनमा सहभागीको भीडसँगै विभिन्न ठाउँबाट आएका व्यवसायी तथा सामग्री विक्रेताले पनि आफ्नो उत्पादन र सामग्री बिक्रीका लागि स्थललाई अवसरका रूपमा प्रयोग गरेका छन्।

महाधिवेशनस्थलमा ढाका तथा स्थानीय सामग्रीबाट बनेका टोपी बेचिरहेका राजु बस्नेतका लागि खुलामञ्चको भीड नयाँ बजार हो।

उनी अरूले उत्पादन गरेका टोपी किनेर विभिन्न ठाउँमा बिक्री गर्छन्। महाधिवेशनमा सहभागी नेता–कार्यकर्ताले टोपी किन्ने सक्ने अनुमान लगाएर उनी त्यहाँ आइपुगेका हुन्। ‘मलाई एउटा मान्छेले खुलामञ्चमा जानु, तिम्रो टोपी धेरै बिक्छ भनेर भनेको थियो,‘ उनले सुनाए, ‘उहाँले पनि दुईवटा टोपी किन्नुभयो, चिया पनि खुवाउनुभयो।’ बस्नेतका अनुसार टोपीको मूल्य ग्राहकअनुसार फरक पर्छ। कतिपयले ६ सय रुपैयाँसम्म तिर्छन् भने कतिपयले २–३ सय रुपैयाँमै माग गर्छन्।

‘मान्छेअनुसार विभिन्न तरिकाका हुन्छन्। कोहीले बूढो मान्छे हो, खाओस् भनेर दया–मायाले पैसा दिन्छन्, कोहीले हुँदैन पनि भन्छन्,‘ उनले भने। टोपी बिक्रीबाट मात्रै नियमित आम्दानी गर्न भने कठिन छ। त्यसैले उनी मौसम र अवसरअनुसार काम परिवर्तन गर्छन्। पहिले ज्यामी काम गर्ने गरेका उनी अहिले कहिले गाउँबाट तरकारी ल्याएर बेच्छन, कहिले टोपी, स्विटर, कपडा र छाता बिक्री गर्छन्। महाधिवेशन उनको लागि राजनीतिक कार्यक्रमभन्दा बढी केही दिनको नयाँ बजार बनेको छ।

महाधिवेशनस्थलमा जुम्लाको स्याउ बेच्न आएका खम्म विश्वकर्माको कथा पनि उस्तै छ। उनले कर्णालीको स्थानीय उत्पादन जुम्लाको स्याउ काठमाडौं ल्याएर बिक्री गरिरहेका छन्।

‘बोक्यो त के गर्ने, कर्णालीको जुम्लाको स्याउ हो। अर्गानिक स्याउ हो। काठमाडौं आएपछि यस्तै गरेर जीविकोपार्जन गर्नुपर्छ,‘ विश्वकर्माले भने।

उनका अनुसार जुम्लाबाट काठमाडौंसम्म स्याउ ल्याउँदा ढुवानीमै ठूलो खर्च हुन्छ। करिब एक गाडी स्याउ ल्याउँदा २ लाख ४० हजार रुपैयाँसम्म भाडा लागेको उनले बताए। सुरुमा प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री गरेको स्याउ अहिले २ सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनको भनाइ छ।

‘फाइदा त खासै हुँदैन। काठमाडौं आइपुग्यो भने फाइदा भए पनि घाटा भए पनि सके–सक्काएरै जानुपर्ने स्थिति आउँछ,‘ उनले भने।

विश्वकर्माका अनुसार उनको परिवारमा छ जना छन्। आर्थिक अवस्था कमजोर भएकाले परिवार चलाउन विभिन्न काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए। हिउँदमा भारत गएर ज्यामी काम गर्ने र अन्य समयमा गाउँमै उपलब्ध काम तथा उत्पादनबाट आम्दानी गर्ने गरेको उनको भनाइ छ।

महाधिवेशनस्थलमा व्यापारका लागि पुगेकी अर्की महिला भने कांग्रेसका विचार र इतिहाससँग सम्बन्धित पुस्तक बिक्री गरिरहेकी छन्। देवा उपाध्यायले राजनीतिक कार्यकर्ताका लागि अध्ययन आवश्यक रहेको भन्दै कांग्रेससम्बन्धी पुस्तक बिक्रीका लागि ल्याएको बताइन्।

‘अध्ययनबिनाको राजनीति अधुरो हुन्छ, अपूरो हुन्छ। त्यसले गर्दा सबैले कांग्रेसका न्यूनतम जान्नुपर्ने कुराहरू जान्नुपर्छ भन्ने उद्देश्यले म यहाँ आएको हुँ,‘ उनले भनिन्। सामाजिक सञ्जालमा केन्द्रित हुँदै गएको राजनीतिक गतिविधिबीच पुस्तक अध्ययनको महत्त्व रहेको उनको भनाइ छ।

‘आजभोलि सामाजिक सञ्जालको राजनीति भइरहेको छ। तर पुस्तक भनेको पुस्तक नै हो। पुस्तक पढेजस्तो सामाजिक सञ्जाल हेरेर राजनीति हुँदैन। त्यो केही क्षणिक हो,‘ उपाध्यायले भनिन्।

उनका अनुसार कार्यकर्ताले सहज रूपमा किन्न सकून् भनेर पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ। महाधिवेशन सुरु भएको केही समयमै चारवटा पुस्तक बिक्री भइसकेको उनले बताइन्। पुस्तक बिक्रीबाट आएको रकम व्यक्तिगत आम्दानीका लागि मात्र नभई पुस्तकालय तथा संस्था सञ्चालनमा समेत प्रयोग गर्ने उनले बताइन्।

यसरी कांग्रेसको महाधिवेशनस्थलमा राजनीतिक बहस र नेतृत्व चयनको चहलपहलसँगै विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादन, परम्परागत सामग्री र वैचारिक पुस्तकको बिक्रीसमेत भइरहेको छ। महाधिवेशन कतिपयका लागि राजनीतिक सहभागिताको थलो बनेको छ भने कतिपयका लागि आफ्नो उत्पादन र सीपमार्फत आम्दानी गर्ने अवसरसमेत बनेको देखिन्छ।

प्रकाशित: Oct 05, 2026| 09:07 सोमबार, असोज १९, २०८३
प्रतिक्रिया दिनुहोस्