शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

दसगजाका स्थानीयले क्यारिङबाट क्विन्टल चिनी भित्र्याउँछन्

 |  शनिबार, असोज १७, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०८३

काठमाडौं। नेपाल–भारत सीमा क्षेत्रबाट दिनमा अवैध चिनी एक सय क्विन्टल भित्रिने गरेको छ। सीमा क्षेत्रबाट ओसारपसार (क्यारिङ) बाट एउटै व्यक्तिले दिनमा २० पटक ओहोर दोहोर गर्दा एक पटकमा पाँच किलो चिनीसम्म ल्याउने गरेका छन्। दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरूको अवैध ओसारपसारका गतिविधि बढ्दै गएको छ। 

सीमा क्षेत्रका विभिन्न नाकाहरूमा स्थानीय बासिन्दा, महिला तथा अपाङ्गता भएका व्यक्तिहरू समेत विभिन्न माध्यम प्रयोग गरी दैनिक रूपमा सामान ल्याउने गरेका छन्। खुला सीमाका कारण यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न कठिनाइ भएको भन्सार अधिकृत बताउँछन्। 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सीमानाकाबाट क्यारिङमार्फत एक दिनमा एक सय क्विन्टल भन्दा बढी चिनी भित्रिने गरेको छ। क्यारिङमा काम गर्ने दुई सय भन्दा बढी व्यक्ति रहेको भएपनि दसगजा नजिक बसोवास गर्ने व्यक्तिले एक दिन २० पटक सम्म सामान ओसार पोसार गर्ने भएकाले प्रतिव्यक्ति पाँच किलोका दरले दिनमा एक क्विन्टलसम्म चिनी भित्रिने गरेको उनले सुनाए। 

भैरहवा भन्सार नाका हुँदै दसगजा नजिकै बसोबास गर्ने स्थानीयले चाहेमा दिनमा २० पटकसम्म सीमापार गरेर सामान ल्याउन सक्ने अवस्था रहेको छ। एक पटकमा पाँच किलो चिनी वा ४÷५ प्याकेट बिस्कुट जस्ता थोरै परिमाण ल्याउँदा घरायसी सामान भन्दै कारबाहीबाट उम्किने र दिनभरिमा ठूलो परिमाण जम्मा गर्ने रणनीति उनीहरूले अपनाएका छन्।

खुला सीमानाका कारण भन्सार छली तथा अवैध सामान ओसारपसार नियन्त्रण गर्न गम्भीर चुनौती थपिएको प्रमुख भन्सार अधिकृत पौडेलले बताउँछन्। दुवै देशतर्फ प्रभावकारी नियन्त्रण संयन्त्र नहुँदा सिमाना छिद्रयुक्त बनेको र सोही अवस्थाको फाइदा उठाउँदै ठूलो परिमाणमा अवैध सामान भित्रिने गरेको उनको भनाइ छ।

उनका अनुसार सीमापारि भारततर्फ नेपाली ग्राहक र बजारलाई नै लक्षित गरेर पसल तथा गोदामहरू खोलिएका छन् भने, नेपालतर्फ उच्च जनघनत्व र न्यून आम्दानी भएका सर्वसाधारणको बसोबास रहेको छ। 

यसै सामाजिक–आर्थिक अवस्थाको फाइदा उठाउँदै मुख्य तस्करहरूले भारततर्फ सामान थुपार्ने र स्थानीय बासिन्दालाई ’क्यारियर’का रूपमा प्रयोग गरेर नेपालतर्फ सामान ओसार्ने गरेका छन्। 

स्थानीय बासिन्दाले बिहान, साँझ वा रातिको समयमा सुरक्षाकर्मीको आँखा छलेर अथवा घरायसी प्रयोजनको बहाना बनाएर साइकल, मोटरसाइकल र पैदलै सामान भित्र्याउने गर्छन्। यसरी भित्र्याइएका बिस्कुट, लत्ताकपडा, जुत्ता–चप्पल, खाद्यान्न तथा हार्डवेयरका सामानहरू सुरुमा आफ्नै घर, भान्छा वा नजिकैका साना गोदाममा लुकाएर राखिन्छ।

छरिएर राखिएका ती सामानहरू पछि रातिको समयमा साना पिकअप भ्यानमार्फत सङ्कलन गरी बजारसम्म पुर्याउने संगठित सञ्जाल सक्रिय रहेको उनले जानकारी दिए।

अपाङ्गता भएका व्यक्तिहरूले ट्राइसाइकल वा रिक्सा प्रयोग गरी बिस्कुट लगायतका सामान भित्र्याउने गरेको र मानवीय आधारमा कडा कारबाही गर्न पनि व्यावहारिक जटिलता हुने गरेको उनले बताए।

सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी) हरू निश्चित दूरीमा तैनाथ रहे पनि खुला सिमानाका हजारौँ छिद्रहरूमा २४ सै घण्टा निगरानी राख्न जनशक्ति र भौगोलिक स्थितिका कारण कठिन भइरहेको उनको भनाइ छ।

प्रकाशित: Oct 03, 2026| 18:07 शनिबार, असोज १७, २०८३
प्रतिक्रिया दिनुहोस्