काठमाडौं। कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा शिक्षक र विद्यार्थीको सहकार्यमा सम्पन्न विभिन्न अनुसन्धान प्रतिवेदनहरू एकैसाथ प्रस्तुत तथा प्रसार गरिएको छ।
क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलको आयोजनामा भएको कार्यक्रममा शैक्षिक वर्ष २०८२/०८३ मा तयार पारिएका पाँचवटा संयुक्त अनुसन्धान परियोजनाका निष्कर्षहरू सार्वजनिक गरिएको हो।
कार्यक्रममा टमाटरलगायत तरकारीमा कीटनाशक औषधिको मात्रा र सावधानी, कैलालीको गोदावरी नगरपालिकामा मौसमी जलवायु परिवर्तनका सामाजिक तथा वातावरणीय प्रभाव, र विदेशी वनस्पति प्रजातिको स्थानीय वातावरणमा पर्ने असरबारे अध्ययन प्रस्तुत गरिएको थियो। त्यसैगरी, धनगढीका सामुदायिक वनमा पुतली विविधताको तुलनात्मक अध्ययन र माछा बजारीकरणका अभ्यास तथा उपभोक्ताको रुचिको मूल्याङ्कनसम्बन्धी प्रतिवेदनहरू पनि प्रस्तुत गरिएका थिए।
उक्त अनुसन्धान कार्यहरूमा भुवन न्यौपाने, गोमा चौधरी, दीपक राज जोशी, राजेश बहादुर मल्ल र दीक्षा भाट लगायतका विद्यार्थीहरूको सहभागिता रहेको थियो। अनुसन्धानकर्ताहरूले अध्ययनका क्रममा प्राप्त तथ्यहरूले सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित प्रयोग, जैविक विविधता संरक्षण र जिम्मेवार व्यवहार अपनाउन सहयोग पुग्ने बताएका छन्।
क्याम्पसका विभागीय प्रमुख जंगबहादुर कठायतको अध्यक्षतामा भएको कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रा डा रघुबीर भट्टले अनुसन्धानको महत्वबारे प्रकाश पार्नुभएको थियो।
शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्रोत्साहन गर्दै अनुसन्धान संस्कृति, सहकार्यात्मक सिकाइ र सामाजिक उत्तरदायित्व सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले शैक्षिक क्षेत्र र आमसमुदायबीच ज्ञानको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा क्याम्पस प्रमुख नरेश पन्तले कक्षाकोठाको ज्ञानलाई अनुसन्धानमार्फत समाजसम्म जोड्ने संस्कृति क्याम्पसमा विकास हुँदै गएकोमा खुसी व्यक्त गर्दै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे।