बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सीमामा चोरी–पैठारी रोक्न प्रविधि र एकीकृत प्रयास आवश्यक, अवैध धन्दामा नेपालीकै वर्चस्व

सीमामा चोरी–पैठारी रोक्न प्रविधि र एकीकृत प्रयास आवश्यक, अवैध धन्दामा नेपालीकै वर्चस्व

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रबाट हुने सानातिना ओसारपसार (क्यारिङ) तथा अवैध चोरी–पैठारी सामान दैनिक उपभोग्य वस्तुहरु भित्रिने गरेको छ। अवैध सामानहरु मध्ये दैनिक उपभोग्य घरायासी सामान, कपडा, खाद्यान्न तथा उच्च भन्सार महसुल लाग्ने खुद्रा सामग्रीहरूको अवैध पैठारी हुँदै आइरहेको हो। अवैध पैठारीमा संलग्नहरु मध्ये भारतीयभन्दा बढी नेपाली नागरिकहरूकै संलग्नता रहेको पाइएको छ। 

अवैध पैठारी नियन्त्रणका लागि भन्सार प्रशासन र सुरक्षा निकायले संयुक्त रूपमा निगरानी तथा कडा सुरक्षा व्यवस्था मिलाइएको छ भने, दुवै देशबीचको मूल्य अन्तर समायोजन, करको दरमा पुनरावलोकनलगायत नागरिकको जिम्मेवार भूमिकाले मात्रै राजस्व चुहावट र अवैध व्यापार पूर्ण रूपमा रोक्न सकिने भन्सार अधिकृतहरु बताउँछन्। 

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले भन्सार क्षेत्रबाट हुने सानातिना ओसारपसार तथा चोरी–पैठारी नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको बताए। उनका अनुसार भन्सार क्षेत्रबाट धेरैजसो दैनिक उपभोग्य घरायासी सामानहरू लगायतका खुद्रा किराना सामग्रीहरूको ओसारपसार हुने गरेको छ। 

भन्सारबाट दैनिक उपभोगय घरायसी सामान चिनी, तेल, आलु, प्याज र जिरा धनियालगायतका सामान ओसारपसार हुने गरेको छ। उनले घरायसी सामान ओसारपसारमा भन्सार क्षेत्रका स्थानीय बासिन्दा, महिलाहरू र केही अपाङ्गता भएका व्यक्तिहरू संलग्न रहेको बताए। 

उनका अनुसार व्यापारिक प्रयोजनका सामानहरू भन्सार छलेर वा सिटी सफारीमा लुकाएर ल्याएको पाइएमा जफत गरी कानुनी कारबाही र मुद्दाको प्रक्रियामा लगिने तथा वैधानिक बाटोबाट ल्याइएका सामानको बिलबिजक अनुसार भन्सार महसुल असुल गरेर छाड्ने गरिएको छ। 

गैरकानुनी ओसारपसार रोक्नका लागि सशस्त्र प्रहरी र प्रहरीको संयुक्त टोलीले मेची पुलदेखि भन्सार क्षेत्रसम्म कडा निगरानी र अनुगमन गरिरहेको छ। भन्सार क्षेत्रमा हुने अनैतिक क्रियाकलापरलाई रोक्नका लागि सुरक्षाकर्मीको संख्या समेत थप गरिएको छ। 

चोरी–पैठारी पूर्ण रूपमा नियन्त्रण गर्न केवल भन्सार र सुरक्षा निकायको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रमुख भन्सार अधिकृत न्यौपाले नेपाली व्यापारी र नागरिकहरूलाई पनि जिम्मेवार बन्न आग्रह गरेका छन्। 

स्थानीय उद्योग वाणिज्य संघ तथा व्यवसायीहरूले बाहिरबाट अवैध रूपमा ल्याइएका सामान खरिद नगरिदिएमा यस्तो गतिविधि स्वतः निरुत्साहित हुने उनको भनाइ छ। राज्यको राजस्व चुहावट नहोस् भन्ने उद्देश्यले भन्सार कार्यालयले एकीकृत रूपमा सामानको जाँच गरी नियमानुसार भन्सार असुली गरिरहेको उनले जानकारी दिए। 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार र चोरी–पैठारी नियन्त्रणका लागि प्रहरी, सशस्त्र प्रहरी बल र भन्सार प्रशासन मिलेर संयुक्त रूपमा काम गरिरहेको बताए। नियमित गस्ती तथा प्राप्त सूचनाका आधारमा सामान र संलग्न व्यक्तिहरू पक्राउ गर्ने गरिएको उनको भनाइ छ।

भारतबाट अवैध रूपमा भित्र्याइने सामानहरूमा सबैभन्दा बढी खाद्यान्न र कपडालगायत केही मात्रामा हार्डवेयरका सामानहरू समेत चोरी–पैठारी हुने गरेको छ। चोरी–पैठारीदगायत अवैध कार्यमा ९० प्रतिशतभन्दा बढी नेपाली नागरिक नै संलग्न रहेको र भारतीयहरूको संलग्नता करिब १० प्रतिशत मात्र रहेको उनले बताए। 

अवैध सामान ओसारपसार संलग्नमा पक्राउ परेका मुद्दाहरूमध्ये १० प्रतिशत घटनामा मात्रै मानिसहरू भेटिने र बाँकी ९० प्रतिशत अवस्थामा सामान बेवारिसे रूपमा छाडेर मानिसहरू भाग्ने गरेको उनको भनाइ छ। 

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले खुल्ला सिमानाका कारण सीमा क्षेत्रमा चोरी–पैठारी तथा अवैध ओसारपसार नियन्त्रणमा चुनौती थपिएको बताए। आफूहरुले प्रहरी तथा सशस्त्र प्रहरी बलले बुझाउने रिपोर्ट र नियन्त्रणमा लिइएका सामानका आधारमा कारबाही प्रक्रिया अघि बढाउने गरिएको उनले जानकारी दिए। 

उनका अनुसार चोरी–पैठारी भई भित्रिने सामानहरूमा खाद्यान्न, गेडागुडी, कपडा, सुर्तीजन्य पदार्थ, चिनी, हल्का पेय पदार्थ तथा रजनीगन्धा लगायतका विभिन्न किसिमका उपभोग्य सामग्रीहरू रहेको छ। 

अवैध रूपमा सामान ल्याउने कार्यमा भारतीय भन्दा बढी नेपाली नागरिकहरूकै संलग्नता रहने गरेका छन्। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका प्रत्येक नाका र गौडाहरूमा खटिएर निगरानी गरिरहेको भए पनि खुल्ला सिमानाका कारण पूर्ण नियन्त्रण गर्न जटिल रहेको उनको भनाइ छ। 

यसलाई रोक्नका लागि भन्सारले पछिल्लो समय गोदामहरूको अनुगमन गर्ने र संदिग्ध गोदामहरूमा संयुक्त रूपमा छापा मारेर सामान र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने रणनीति अपनाएको छ।

आगामी दिनमा चोरी–पैठारी नियन्त्रणका लागि सूचना संकलनलाई थप चुस्त बनाइने, संवेदनशील मानिएका जोखिमयुक्त स्थानहरूको पहिचान गरी सुरक्षा निकायहरूसँग सूचना आदानप्रदान गरिने र अवैध कार्यमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गरिने उनले बताए। 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार सीमा क्षेत्रमा हुने चोरी–पैठारी र क्यारिङ नियन्त्रणका लागि परम्परागत सुरक्षाकर्मीको परिचालन मात्र पर्याप्त नहुने भन्दै आधुनिक प्रविधि र बहुआयामिक रणनीति अपनाउनुपर्ने छ। 

सीमा क्षेत्रबाट हुने अवैध ओसारपसारमा भारतीय नागरिकको तुलनामा नेपाली नागरिकहरुकै संलग्नता बढी रहने गरेको उनले बताए। चोरी–पैठारी गरी भित्र्याइने सामानहरू औद्योगिक कच्चा पदार्थ, औषधि वा ठूला विदेशी सामानहरू भन्दा पनि भन्सार तथा महसुल बढी लाग्ने स्थानीय उपभोग्य सामग्रीहरू सुर्ती कपडाहरू, चिनी लगायतका खाद्य सामग्रीहरू बढी भित्रिने गरेको छ।

नेपाल–भारत बीचको करिब १८ सय किलोमिटर खुल्ला सिमानाका कारण चोरी–पैठारी नियन्त्रणमा सधैं चुनौती रहँदै आएको उनको भनाइ छ। सीमाको दुवैतर्फका नागरिकहरूको घरायसी, सामाजिक तथा आर्थिक सम्बन्ध जोडिएकाले सीमा नियन्त्रणमा केही न केही जटिलता कायम रहने उनले बताए। 

प्रहरी तथा भन्सार कर्मचारीको भर पर्नुको सट्टा प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिँदै उनले सिसीक्यामेरा, ड्रोन प्रविधि, तथा आन्तरिक अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने बताउँछन्।

उच्च भन्सार दरहरूलाई पुनरावलोकन गरी घटाउने, सीमा क्षेत्रका बासिन्दाको गरिबी निवारण गर्ने र जीवनस्तर सुधार्ने जस्ता बहुआयामिक उपायहरू अवलम्बन गर्न सकेमा मात्र अवैध ओसारपसार पूर्ण रूपमा निरुत्साहित हुने उनको भनाइ छ।

प्रकाशित: Sep 30, 2026| 17:14 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्