काठमाडौं – अहिलेको यो सरकार सम्भवतः नेपालको राजनीतिक इतिहासमै सबैभन्दा शक्तिशाली हो। योसँग दुई तिहाइ बहुमत छ। तर यतिबेला दुई तिहाइ हल्लिएको छ, डराएको छ।
दुई तिहाइको शक्तिशाली सरकार हल्लिनुपर्ने वा डराउनुपर्ने अरु कुनै विशेष राजनीतिक तथा भूराजनीतिक कारण छैन। एउटा कलाकारले युट्युबमा राखेक ब्यंग्यात्मक गीतका कारण दुई तिहाइ हल्लिएको छ, कम्युनिस्ट सत्तामा तरंग उत्पन्न भएको छ।
नागरिकस्तरबाट प्रश्न गरिएको छ, दुई तिहाइको शक्तिशाली सरकार एउटा कलाकारको गीतसँग किन हल्लिन्छ, किन तर्सिन्छ? एउटा कलाकारको सिर्जनात्मक आलोचना सहन नसक्ने शक्तिशाली सरकारको कमजोर मनोविज्ञान देखेर जनता दिक्क भएका छन्।
नेपालमा भ्रष्टाचार बढेको सन्दर्भलाई समेट्दै 'लुट्न सके लुट कान्छा, नेपालमै हो छुट' भन्ने गीत तयार गरे। दुई दिनमा मात्र तीन लाखभन्दा बढीले हेरेका छन् र सुनेका छन्।छोटो समयमा युट्युब च्यानलमा यो भाइरल पनि भयो। किनभन्दा यसमा जनभावना र जनआक्रोश पोखिएको छ। तर सरकारलाई यो खपिसक्नु भएन। यसलाई हटाउन राज्यशक्ति नै लाग्यो, निरन्तरको धम्कीपूर्ण दबाबपछि पशुपति आफ्नो सिर्जनालाई युटुबबाट हटाउन वाध्य भए।
युट्युबबाट एउटा गीत डिलेट भएको छ तर यतिबेला पशुपति दर्शकको मनमनमा हिट भएका छन्। बरु सरकार हल्लिएको छ।सामाजिक संजालमा पशुपति नै हिरो भएका छन्। एउटा कलाकारको गीतसँग तर्सिने र हल्लिने दुई तिहाइको शक्तिशाली सरकारको आलोचना भइरहेको छ। युट्युबबाट हटाइएको पशुपतिको गीतले सांगतिक जगतमा मात्र होइन, राष्ट्रिय राजनीतिमै तरंग ल्याइदिएको छ।
सरकार जनताको हो। जनस्तरबाट यसको आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ, आरोप लाग्छ। यो कहिले पत्रकारले गर्छ, कहिले कलाकारले, कहिले अधिकारकर्मीले त कहिले अरु पेसाकर्मीले गर्छन्। यो सुन्ने र सहने क्षमता लोकतान्त्रिक सरकारसँग हुनुपर्छ। जसले विरोध गर्छ, जसले आलोचना गर्छ, त्यहीविरुद्ध जाइलाग्ने, उसको मुखमा ताल्चा लगाउने प्रयास लोकतान्त्रिक सरकारको चरित्र होइन। एउटा कलाकारले गीत गाउँदैमा सरकार भ्रष्ट, सत्तामा रहेकाहरु कसुरदार ठहरिदैनन्। यो त एउटा भावना हो, जनतामा प्रवाहित भएको आक्रोश हो। यो विभिन्न माध्यमबाट पोखिनसक्छ। यस्ता कुरा जनताको जिम्मामा छोड्नुपर्छ। जनभावनालाई नै छेक्ने र सेन्सर गर्नेतिर राज्य नै लाग्नु हुँदैन।
युट्युबबाट गीत हटेर पशुपतिलाई केही फरक परेको छैन। लाखौं लाख दर्शकको मनमनमा रेकर्ड भइसकेको छ। यतिबेला जनताको मनमनमा यो गित गुन्जिरहेकोछ , गुन्जिरहनेछ।त्यो राज्यले हटाउन सक्दैन।
आफूले रचेको गीत पशुपतिले सजिलै हटाएका छैनन्। यसका लागि उनले टेलिफोन वा प्रत्यक्ष भेटमा सत्तामा रहेकाहरुबाट कति अपमान, गाली, यातना र धम्की खेप्नुपर्यो रु त्यो अहिले पशुपतिले खुलासा गर्न सक्दैनन्।
शासन संचालनमा रहेका मुख्य पात्रहरुको सार्वजनिक आलोचना र व्यंग्य दुनियाँमा जहाँ पनि हुन्छ। कलाकारको मुख बन्द गरेर, पत्रकारको कलममा अंकुश लगाएर वा नागरिकलाई निरीह बनाएर सत्ता बलियो हुन्छ भन्ने भ्रममा सरकार छ भने त्यो भयानक भूल हुनेछ।
भ्रष्टाचार बढेको कुरा पशुपतिले गीत गाएर मात्र जनताले थाहा पाएका होइनन्। यो आम अभिव्यक्ति र निराशा हो। ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन २०१९ ले नेपालमा भ्रष्टाचार बढेको तथ्यसहितको प्रतिवेदन हालै प्रकाशित गरेको छ। (
यो पनि पढ्नुस्,
दुईतिहाइको कम्युनिस्ट सरकार छँदा भ्रष्टाचार भयावह)
पशुपतिले गाएजस्तो राज्यशक्तिको व्यापक दुरुपयोग भएको छ र राज्यस्रोतमा एक प्रकारको लुट नै छ। छानबिन र नियमन गर्ने निकायहरु रमिते बनेर बसेका छन्। उनीहरूलाई पनि दुई तिहाइको त्रासमा राखिएको छ। यही कुरा उनले गीतमा भनेका छन्। यो आम जनताको बोली पनि हो।
कलाकार समाजका ऐना मात्र होइनन, उनीहरु पहरेदार पनि हुन्। समाजमा भइरहेका बिसंगती र सरकारबाट भएका गल्ती कमजोरीलाई उनीहरु सिर्जनामार्फत प्रस्तुत गर्छन्, औंल्याउँछन्। यसको अर्थ सरकारले यदि आफ्नो विरोध भनेर बुझेको छ भने त्यो गलत हो। सरकारलाई थप प्रभावकारी बनाउनका लागि उनीहरुले दिएको सुझाव र सिर्जानात्मक दबाब हो यो। शासनमा बस्नेहरुलाई सच्चिनका लागि जनताको तर्फबाट एउटा कलाकारले गरेको खबरदारी हो।
पशुपति लोकप्रिय कलाकार हुन्। एउटा व्यवसायिक कलाकारको धर्म हो, जनबोली र जनभावानालाई समेटेर सिर्जना तयार गर्नु। पशुपतिले त्यही धर्म निर्वाह गरेका छन्। यसअघि पनि उनले जनबोली समेट्ने र राष्ट्रियता झल्किने गीत गाएका थिए। 'मलाई अमेरिका यहीं, मलाई जापान पनि यहीं 'भन्ने गीत निकै चर्चित भएको थियो। विदेश भन्नसाथ मरिहत्ते गर्नेहरुलाई यसलाई राम्ररी झस्काएको थियो र स्वदेशमै केही गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको थियो।
कलाकारको मर्यादा र सिमा आफ्नो ठाउँमा छ। उनीहरु पनि आचारसंहितमा बस्नुपर्छ। सिर्जनाको नाममा कसैलाई चरित्रहत्या गर्ने वा समाजमा हिंसा र दुर्भावना फैलाउनु काम गर्नुहुँदैन। यदि त्यस्तो हुन्छ भने त्यहाँ उन्मुक्ति दिनु हुँदैन। तर त्यसको छानबिन तथा कारबाहीको आफ्नै विधि छ होला। यसको उपचार कलाकारको गलामा ताल्चा लगाएर हुँदैन।
दुई तिहाइको शक्तिशाली सरकार नागरिक आलोचना सुन्ने र सहने क्षमता गुमाउँदैछ भन्ने डरलाग्दो संकेत यसले दिएको छ। संविधानले दिएको अभिव्यक्तिको स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने गरी राज्यशक्ति नै एउटा सामान्य कलाकारविरुद्ध यसरी जाइलाग्नु लाजमर्दो घट्ना हो। यसले खुला समाज र लोकतन्त्रको पनि उपहास गरेको छ।
यो पनि पढ्नुहोस्,