बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एआईआईबीको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

एआईआईबीको वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए

 |  बुधबार, असोज १४, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०८३

काठमाडौं- एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार स्वदेश फर्किएका छन्। कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं आइपुगेका हुन्। अर्थमन्त्री वाग्ले असोज १० गते एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन कतारको राजधानी दोहा प्रस्थान गरेका थिए।

वार्षिक बैठकले एआईआईबीको गभर्नर परिषद्का गभर्नरसमेत रहेका वाग्लेलाई सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको थियो। क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएको हो। बैठकअन्तर्गत भएको ‘गभर्नर्स बिजनेस राउन्डटेबल’मा वाग्लेले पूर्वाधारमार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको महत्वपूर्ण आधार रहेको बताएका थिए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिलगायत उत्पादनका प्रमुख क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए।

नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्ने तथा स्वदेशी र विदेशी निजी पुँजी आकर्षित हुने गरी वित्तीय स्रोत उपलब्ध गराउनुपर्नेमा समेत उनले जोड दिएका थिए।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल गरेका थिए।

नेपाल एआईआईबीको उपसभापतिमा निर्वाचित भएसँगै पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच सहकार्यका थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Sep 30, 2026| 13:14 बुधबार, असोज १४, २०८३
प्रतिक्रिया दिनुहोस्