काठमाडौं। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अबुधाबी पुगेर संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन्।
इजरायली एक वरिष्ठ अधिकारीका अनुसार नेतन्याहुको यो भ्रमण पूर्वघोषित थिएन। इजरायली सञ्चारमाध्यमले पनि नेतन्याहुले एकदिने भ्रमणका क्रममा अबुधाबीमा राष्ट्रपति शेख मोहम्मदसँग भेट गरेको जनाएका छन्।
यो भेट अक्टोबर ७, २०२३ को हमास आक्रमणअघि यूएई राष्ट्रपतिले नेतन्याहुलाई सम्भावित ठूलो आक्रमणबारे चेतावनी दिएको भन्ने हालैको समाचारपछि भएको हो। नेतन्याहुले उक्त दाबी अस्वीकार गर्दै आएका छन्। यूएईले भने यस विषयमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन।
इजरायल र यूएईले सन् २०२० मा अब्राहम सम्झौतामार्फत कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए। पछिल्लो भेट क्षेत्रीय तनाव बढिरहेका बेला भएको हो।