सोमबार, असोज १२, २०८३

जबराको पक्राउप्रति सांसद महरको आपत्ति

 |  सोमबार, असोज १२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०८३

काठमाडौं- नेकपा एमालेका सांसद ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले असोज १० गते राति निवासबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले जबरालाई पक्राउ गर्ने क्रममा सरकारले ‘गुण्डागर्दी’ र ‘अपहरण शैली’ अपनाएको आरोप लगाए। उनले सरकारको उक्त कदम कानुनी राज्य र विधिको शासनविपरीत भएको दाबी गरे।

महरले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि हुन नसक्ने भन्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्ने बताए।

‘कानुनभन्दा माथि लोकतन्त्रमा कोही पनि हुँदैन। यदि कसैले कानुन हातमा लिने काम गरेको छ भने जोसुकैलाई पनि अभियोग लगाएर तथ्य र प्रमाणका आधारमा कानुनी दायरामा ल्याउनुपर्छ,’ उनले भने।

सरकारले पूर्वाग्रह र प्रतिशोधका आधारमा आफूहरूको विरोध गर्ने व्यक्तिलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने गरेको आरोप पनि महरले लगाए। उनले सरकार गठन भएदेखि नै यस्ता घटना दोहोरिँदै आएको दाबी गरे।

महरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएका घटनाको समेत उदाहरण दिँदै सरकारको कार्यशैलीप्रति आलोचना गरे। नागरिकको मान–प्रतिष्ठा, व्यक्तिगत अधिकार र मानवअधिकारको सम्मान गर्नुपर्नेमा उनले जोड दिए।

जबरालाई ‘जेनजी’बाट सुरक्षा खतरा रहेको भनिएको विषयप्रति पनि महरले प्रश्न उठाए। सुरक्षा खतरा दिने भनिएका व्यक्तिमाथि कारबाही गर्नुको सट्टा खतरा रहेको भनिएका व्यक्तिलाई नै पक्राउ गरिएको भन्दै उनले आपत्ति जनाए।

‘जो थ्रेट दिने मान्छे हुन्, तिनलाई सुरक्षा दिने र जसलाई थ्रेट दिइएको छ, उसलाई ल्याएर पक्राउ गर्ने?’ उनले प्रश्न गरे।

पूर्वप्रधानन्यायाधीशजस्तो प्रतिष्ठित व्यक्तित्वलाई पक्राउ गर्ने क्रममा सरकारले उनको मान–प्रतिष्ठा र मानवअधिकारको समेत ख्याल नगरेको महरको आरोप थियो।

जेनजी आन्दोलनको नाममा युवाहरूलाई बदनाम गर्ने काम नगर्न सरकारलाई आग्रह गर्दै महरले सुरक्षा खतरा दिने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्नसमेत माग गरे।

प्रकाशित: Sep 28, 2026| 12:18 सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्