शनिबार, असोज १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • डेढ दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार सुमन सापकोटा सम्मानित

डेढ दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार सुमन सापकोटा सम्मानित

 |  शनिबार, असोज १०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०८३

काठमाडौं। विगत डेढ दशकदेखि नेपाली सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी सुमन सापकोटा सम्मानित भएका छन्। पत्रकारिता तथा सञ्चार क्षेत्रमार्फत पुर्‍याएको योगदानको कदर गर्दै सापकोटालाई लोक स्वर सम्राट राजु परियार तथा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले सम्मान गरेका हुन्।

महक रेकर्डिङ स्टुडियोका सञ्चालक यमन खनालको अध्यक्षतामा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सापकोटालाई सम्मान गरिएको हो। कार्यक्रममा चर्चित लोकगायक राजु परियार प्रमुख अतिथिका रूपमा सहभागी थिए। विभिन्न कलाकार, सञ्चारकर्मी तथा गीत–संगीत क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

लामो समयदेखि पत्रकारितामा क्रियाशील सापकोटाले विशेषगरी समाचार संकलन, रिपोर्टिङ तथा समसामयिक विषयवस्तुलाई सञ्चारमाध्यममार्फत आमनागरिकसम्म पुर्‍याउँदै आएका छन्। विभिन्न रेडियो, टेलिभिजन तथा अनलाइन सञ्चारमाध्यममा काम गरेको अनुभव भएका उनी पछिल्लो एक दशकदेखि व्यवस्थापिका संसद् तथा राजनीतिक गतिविधिसम्बन्धी रिपोर्टिङमा समेत सक्रिय छन्।

सापकोटाले आफ्नो पत्रकारिता यात्राका क्रममा एभिन्यूज टेलिभिजन, गोर्खा एफएम, रेडियो देशान्तर, देशान्तर डटकम, सूत्र न्युज तथा ओएस नेपाललगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन्। रेडियोबाट सुरु भएको उनको पत्रकारिता यात्रा टेलिभिजन हुँदै पछिल्लो समय डिजिटल पत्रकारितासम्म विस्तार भएको छ।

यसअघि पनि विभिन्न सम्मान

सञ्चारकर्मी सापकोटा यसअघि पनि पत्रकारिता तथा सञ्चार क्षेत्रमा पुर्‍याएको योगदानका लागि विभिन्न अवार्ड तथा सम्मानबाट सम्मानित भइसकेका छन्।उनले तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०७९ मा ‘गीत–संगीत कला पत्रकारिता सम्मान–२०७९’ प्राप्त गरेका थिए। गीत–संगीत तथा कला क्षेत्रका गतिविधिलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको थियो।

त्यस्तै, काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानमा आयोजित चौथो जिनियस म्युजिक अवार्ड–२०७९ मा पनि सापकोटालाई ‘पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो।सापकोटा अमेरिकाको नर्दन क्यालिफोर्नियास्थित नीलकृष्ण जशोदा सिटौला फाउन्डेसनबाट प्रदान गरिएको ‘नीलकृष्ण जशोदा युवा पत्रकारिता शीर्ष सम्मान–२०८०’ बाट समेत सम्मानित भइसकेका छन्। विभिन्न समयमा प्राप्त यी सम्मानहरूले पत्रकारिता क्षेत्रमा उनको निरन्तर सक्रियतालाई थप प्रोत्साहन दिएको छ।

‘मुग्लिङ बजारमा’ गीत पनि विमोचन

सोही अवसरमा नयाँ लोकगीत ‘मुग्लिङ बजारमा’को समेत विमोचन गरिएको थियो। गायक तथा प्रस्तुतकर्ता बिशु गुरुङ र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको गीतलाई कार्यक्रमका प्रमुख अतिथि राजु परियारलगायत उपस्थित अतिथिहरूले सार्वजनिक गरेका थिए।

गीत विमोचनसँगै आयोजित सम्मान कार्यक्रममा गीत–संगीत, कला र सञ्चार क्षेत्रमा योगदान पुर्‍याउँदै आएका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रमले कलाकार र सञ्चारकर्मीबीचको सहकार्य तथा नेपाली गीत–संगीतको प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकालाई समेत उजागर गरेको थियो।

डेढ दशकदेखि सञ्चार क्षेत्रमा निरन्तर सक्रिय सापकोटाले रेडियो, टेलिभिजन र अनलाइन पत्रकारिताको अनुभवसँगै संसदीय तथा समसामयिक विषयको रिपोर्टिङलाई आफ्नो पत्रकारिता यात्राको महत्त्वपूर्ण हिस्सा बनाउँदै आएका छन्।

प्रकाशित: Sep 26, 2026| 20:44 शनिबार, असोज १०, २०८३
प्रतिक्रिया दिनुहोस्