काठमाडौं- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले नेपाल र भारतसहित ४७ देशका नागरिकलाई युक्रेनविरुद्धको युद्धमा प्रयोग गरिरहेको दाबी गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै जेलेन्स्कीले भारत, घाना, नेपाल, ताजिकिस्तान, यमन, केन्या, जिम्बाब्वे, क्युबा, बेलारुस, सुडान र दक्षिण अफ्रिकालगायत देशका नागरिकलाई कथित रूपमा झुक्याएर रूस लगिएको र युद्धको मैदानमा प्रयोग गरिएको बताएका हुन्।
उनले सम्बन्धित देशका सरकारलाई आफ्ना नागरिकको सुरक्षा गर्न र उनीहरूलाई युद्धको मोर्चामा पुग्नबाट रोक्न आग्रह गरेका छन्।
जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्ना नागरिकलाई युद्धमा तान्न नदिन सम्बन्धित देशले आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। रूसलाई युद्ध जारी राख्न आवश्यक पर्ने आर्थिक स्रोत र सैन्य क्षमता सीमित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
उनले रूससँग व्यापार गरेर ठूलो रकम उपलब्ध गराउने देशहरूले अप्रत्यक्ष रूपमा युद्ध लम्ब्याउन सहयोग पुगिरहेको दाबी गर्दै रूसमाथि आर्थिक दबाब बढाउन आह्वान गरेका छन्। अमेरिकाले रूसमाथि लगाएका नयाँ प्रतिबन्धको उदाहरण दिँदै अन्य देशलाई पनि त्यस्तै कदम चाल्न आग्रह गरेका छन्। जेलेन्स्कीले भारतको नाम ब्ल्याक सीमा तनाव कम गर्ने प्रयासका सन्दर्भमा पनि उल्लेख गरेका छन्।
उनका अनुसार भारत, इजिप्ट र टर्कीले ब्ल्याक सी मा व्यावसायिक पानीजहाजको सुरक्षित आवागमन पुनःस्थापित गर्न प्रस्ताव गरेका छन्। युक्रेन समुद्री युद्धविरामका लागि तयार रहेको र अब रूसको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको उनले बताएका छन्।
जेलेन्स्कीले आगामी जाडोमा युक्रेनका लागि कठिन हुन सक्ने बताएका छन्। रूसबाट भइरहेका क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण युक्रेनको हवाई सुरक्षा प्रणाली थप बलियो बनाउनुपर्ने उनले बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटमा युक्रेनको हवाई सुरक्षा तथा प्याट्रियट क्षेप्यास्त्रको उत्पादन क्षमता बलियो बनाउने विषयमा छलफल भएको उनले जानकारी दिएका छन्। जेलेन्स्कीले युद्धलाई थप लम्बिन नदिन रूसमाथि दबाब बढाउन आवश्यक रहेको बताएका छन्। साथै नेपाल र भारतसहित ४७ देशलाई आफ्ना नागरिकलाई रूस–युक्रेन युद्धबाट टाढा राख्न उनले पुनः आग्रह गरेका छन्।