काठमाडौं- बेलायतले यमनका हुथी विद्रोहीबाट साउदी अरबमाथि भइरहेको आक्रमणको जवाफमा साउदीलाई ‘रक्षात्मक हवाई सहयोग’ उपलब्ध गराउने भएको छ।
बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले साउदी अरबको आग्रहपछि यस्तो सहयोग गर्न सहमति जनाइएको बताएका छन्।
बेलायतले साइप्रसस्थित आरएएफ अक्रोटिरीबाट एउटा भ्वाएजर विमान परिचालन गर्ने तयारी गरेको छ। उक्त विमानले साउदी लडाकु विमानलाई हवाई इन्धन भर्ने काम गर्नेछ। यो सहयोग आगामी केही दिनभित्र सुरु हुने र सुरुमा केही साताका लागि मात्र सीमित रहने बताइएको छ।
यमनका हुथी विद्रोहीले पछिल्ला दिनमा साउदी अरबको राजधानी रियादसहित लाल सागर क्षेत्रमा रहेका ऊर्जा केन्द्रलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। बेलायती अधिकारीका अनुसार प्रस्तावित रक्षात्मक सहयोगमा हुथीका क्षेप्यास्त्र र ड्रोन रोक्न साउदी वायुसेनालाई सहयोग पुग्ने गतिविधि समावेश हुन सक्छ।
बेलायती प्रधानमन्त्री बर्नहमले साउदी अरबमाथि भइरहेको आक्रमण र सम्भावित थप अवरोधका कारण क्षेत्रीय तथा बेलायती हित सुरक्षित गर्न सहयोगको निर्णय गरिएको बताएका छन्। लाल सागर हुँदै हुने जल यातायात विश्व अर्थतन्त्रका लागि महत्वपूर्ण मार्ग मानिन्छ।
बेलायतले यसअघि सन् २०२४ मा अमेरिकासँग मिलेर यमनमा हुथीका विभिन्न ठेगानामाथि हवाई आक्रमण गरेको थियो। हुथी विद्रोही र यमन सरकारबीच सन् २०१४ देखि जारी द्वन्द्वमा साउदी अरब यमन सरकारको पक्षमा रहँदै आएको छ भने हुथीलाई इरानको समर्थन रहेको बताइन्छ।