आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार

 |  आइतबार, असोज ४, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज ४, २०८३

काठमाडौं। भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको छ। नेपाली सेनाका अनुसार आइतबार साँझ ६ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार २२० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ९३७ जना नेपाली र २८३ जना विदेशी नागरिक रहेका छन्।

माथिल्लो त्रिशूली–१ आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा खोजी कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

त्रिशूली–३ए आयोजनाको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। 

यस्तै, त्रिशूली–३बी आयोजनाको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्स्काभेटर र लोडर प्रयोग गरी उत्खनन गरे पनि हालसम्म केही फेला नपरेको जनाएको छ। उक्त क्षेत्रमा खोजी कार्य जारी छ।

रसुवा र नुवाकोटका त्रिशूलीपारि कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान, मान्चेतलगायत प्रभावित क्षेत्रमा नेपाली सेनाले बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी कार्य गरिरहेको छ। साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कनका साथै सडक सम्पर्कबाट विच्छेद भएका दुर्गम क्षेत्रमा ड्रोनमार्फत राहत सामग्री ढुवानी भइरहेको छ।

नेपाली सेनाका ड्रोनमार्फत हालसम्म नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा गरी ३१ हजार ९१ किलो राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ७ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालित छन्। उनीहरूले समन्वयात्मक रूपमा खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्य गरिरहेका छन्।

बाढीबाट प्रभावित परिवारलाई धार्मिक संस्कार, श्रद्धाञ्जली तथा भावनात्मक कार्यमा सहयोग गर्नुका साथै राहत वितरण र आयोजनाका अत्यावश्यक उपकरण ढुवानीमा समेत नेपाली सेनाले सहयोग गरिरहेको छ।

यसैबीच, नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट आश्विन ४ गते सात जनाले स्वास्थ्य सेवा लिएका छन्। यी केन्द्रबाट हालसम्म ४ हजार ३ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

बेत्रावती नदीमा पुल जडानका लागि श्री नं. २८ वाहिनी अड्डा, बाराबाट एक्रो ब्रिजका पार्टपुर्जा तथा सामग्री ढुवानी गरी आश्विन ४ गते नुवाकोटको त्रिशूली पुर्याइएको छ। त्यसका लागि ६ वटा डम्प ट्रक, एक क्रेन ट्रक, एक एक्स्काभेटर र दुईवटा लो–बेड प्रयोग गरिएको थियो। बेत्रावतीमा बेलिब्रिज निर्माणका लागि डिजाइन सम्पन्न गरी फाउन्डेसनको कामसमेत सुरु गरिएको नेपाली सेनाले जनाएको छ। 

प्रकाशित: Sep 20, 2026| 19:19 आइतबार, असोज ४, २०८३
प्रतिक्रिया दिनुहोस्