काठमाडौं। चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना अर्थात् साउनमा वाणिज्य बैंकहरूले पौने नौ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
साउन महिनासम्म २० वाणिज्य बैंकले कुल आठ अर्ब ७३ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएका हुन्। यो रकम गत आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा बैंकहरूले कमाएको आठ अर्ब ३८ करोड २९ लाख रुपैयाँको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढी हो।समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १३ बैंकको नाफा बढेको छ भने ७ बैंकको नाफा घटेको छ।
नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ। नबिलले साउनसम्म ८८ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा ७१ करोड ६४ लाख रुपैयाँ थियो। यसअनुसार नबिलको नाफा २३ दशमलव २८ प्रतिशतले बढेको हो।
दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले ८१ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष साउनमा बैंकको नाफा ७८ करोड ४५ लाख रुपैयाँ थियो। बैंकको नाफा ३ दशमलव ७० प्रतिशतले बढेको छ। तेस्रो स्थानमा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ७३ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ।
गत वर्षको ६३ करोड ४२ लाख रुपैयाँको तुलनामा बैंकको नाफा १५ दशमलव ८० प्रतिशतले बढेको हो।कुमारी बैंकले ५४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष साउनमा बैंकको नाफा ४९ करोड २४ लाख रुपैयाँ थियो। कुमारीको नाफा ११ दशमलव १० प्रतिशतले बढेको छ।
राष्ट्रिय वाणिज्य बैंकले ५२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ। तर, गत वर्षको ५५ करोड ८३ लाख रुपैयाँको तुलनामा यस बैंकको नाफा ६ दशमलव १५ प्रतिशतले घटेको छ। प्राइम बैंकले ५२ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत वर्षको ५० करोड ५० लाख रुपैयाँको तुलनामा यसको नाफा ३ दशमलव ३४ प्रतिशतले बढेको छ। लक्ष्मी सनराइज बैंकले ४९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको ३९ करोड ४५ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २५ दशमलव ९३ प्रतिशतले बढेको हो।
एभरेस्ट बैंकले ४९ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्ष साउनमा बैंकको नाफा ४८ करोड ३९ लाख रुपैयाँ थियो। यसअनुसार नाफा १ दशमलव ७१ प्रतिशतले बढेको छ।
एनएमबी बैंकले ४७ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको ४६ करोड ६८ लाख रुपैयाँको तुलनामा बैंकको नाफा २ दशमलव ६३ प्रतिशतले बढेको छ।सिद्धार्थ बैंकले ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ।
गत वर्षको ४० करोड १४ लाख रुपैयाँको तुलनामा यसको नाफा ७ दशमलव ०१ प्रतिशतले बढेको छ। कृषि विकास बैंकले ३८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष साउनमा कृषि विकास बैंकको नाफा ३ लाख ७५ हजार रुपैयाँ मात्र थियो।
यसअनुसार बैंकको नाफा १० हजार २५४ दशमलव ४० प्रतिशतले बढेको देखिन्छ।सानिमा बैंकले ३८ करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको ३९ करोड ३ लाख रुपैयाँको तुलनामा बैंकको नाफा १ दशमलव ९१ प्रतिशतले घटेको छ।
प्रभु बैंकले ३२ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको ३० करोड २३ लाख रुपैयाँको तुलनामा यसको नाफा ८ दशमलव ९५ प्रतिशतले बढेको हो। सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबिआई बैंक रहेको छ। बैंकले साउनसम्म १७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।